भरतपुर, ७ साउन ।
फाइजर र एस्ट्राजेनेकाको दुवै मात्राको खोप लगाउँदा डेल्टा भेरियन्टविरुद्ध प्रभावकारी हुने पाइएको छ ।
बुधबार “न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिन”मा प्रकाशित एक अध्ययनले फाइजरको पहिलो मात्रा ३६ प्रतिशतसम्म र एस्ट्राजेनेकाको पहिलो मात्रा ३० प्रतिशत प्रभावकारी देखिएको तथ्य सार्वजनिक गरेको हो ।
साथै फाइजरको दुवै मात्रा लक्षणसहितको डेल्टा भेरियन्टविरुद्ध ८८ प्रतिशत र अल्फा भेरियन्टविरुद्ध ९३.७ प्रतिशत प्रभावकारी देखिएको छ ।
त्यसैगरी एस्ट्राजेनेकाको दुवै मात्राको खोप डेल्टा भेरियन्टविरुद्ध ६७ प्रतिशत तथा अल्फा भेरियन्टविरुद्ध ७४.५ प्रतिशत प्रभावकारी पाइएको छ । एस्ट्राजेनेका खोपकै फर्मुला भएको कोभिसिल्ड खोपको प्रयोग नेपालमा थालिसकिएको छ ।
भारतीय कम्पनी सिरम इन्स्टीच्युटद्वारा उत्पादित सो खोप पछिल्लो समय आयात हुन सकेको छैन । भारतमा डेल्टा भेरियन्टको संक्रमण उच्च पाइएकाले उसले आफ्नो देशको जनसंख्याको अधिकतम नागरिकलाई खोप दिएपछि मात्रै अन्य देशमा कोभिसिल्ड खोप निर्यात गरिने बताएको छ ।





