काठमाडौँ, ७ साउन ।
सरकारले चीनसँग खरिद गरेको ४० लाख डोज भेरो सेल खोपमध्येको ८ लाख डोज खोप काठमाडौँ आइपुगेको छ । बेइजिङबाट खोप लिएर उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज (9N-ALY) बिहीबार दिउँसो २ः०७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सोसँगै हालसम्म चीनसँग खरिद गरिएकोमध्ये १६ लाख मात्रा खोप नेपाल आइसकेको छ । त्यस बाहेक पनि १८ लाख मात्रा भेरो सेल खोप चीन सरकारले नेपाललाई सहयोगका रूपमा दिइसकेको छ ।
बिहीबार ल्याइएको खेपको खोपलाई प्रदेश १, कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा वितरण गरिने तयारी भएको राष्ट्रिय खोप अभियानका संयोजक डा. झलक गौतमले बताए । यसअघि चीनबाट आयात गरिएको भेरोसेल खोप अभियान प्रदेश २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वितरण गरिएको थियो ।

यसैबीच, कोरोना संक्रमण विरुद्धको खोप निश्चिन्त भएर लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय तोकिएका उमेर समूहका नागरिकले खोपको प्रभावकारिता प्रति आशंका गर्दै बहिष्कार गर्ने क्रम बढेको भन्दै सो भ्रममा नपर्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयका सचिव डा. रोशन पोखरेलले विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भएको खोप भएकाले निर्धक्क भई अभियानमा सहभागी हुन आग्रह गरेको रेडियो कान्तिपुरले जनाएको छ ।





