चितवन जिल्लामा फेरि एक हप्ताका लागि निषेधाज्ञा थप

भरतपुर, ७ साउन ।

जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको समयावधि पुनः थप गरेको छ । गत वैशाख १६ गतेको मध्यरातदेखि लागू गरिएको निषेधाज्ञालाई थप ७ दिनका लागि निरन्तरता दिइने निर्णय प्रशासनले गरेको हो । सो निर्णयसँगै जिल्लामा निषेधाज्ञा साउन १४ गते मध्यरातसम्मका लागि लम्बिने भएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारीद्वारा जारी गरिएको आदेशमा निषेधाज्ञाका अवधिमा सभा, सम्मेलन तथा भीड हुने खालका कार्यक्रम गर्न नपाइने भनिएको छ । यसअघिका निषेधाज्ञामा गरिएका व्यवस्थालाई नै प्रशासनले निरन्तरता दिएको छ ।

आदेशमा अत्यावश्यकीय सेवालाई सञ्चालनको अनुमति दिइएको छ । यस्तै इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक, अटोमोबाइल, सुनचाँदी, फोटोकपी, आदि निश्चित पसल बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

रेष्टुरेन्ट, खाजा घर तथा मिठाइ पसललाई पनि साँझ ७ बजेसम्मको सञ्चालन अनुमति दिइएको छ । उद्योग तथा कलकारखानामा काम गर्ने कामदारले जनस्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने र तिनको नियमित परीक्षण हुनुपर्ने पनि प्रशासनले जनाएको छ ।

यस्तै होटेल तथा लजले सञ्चालनका लागि निर्धारित मापदण्डको पालना गर्नुपर्ने र कूल कोठा संख्याको एक तिहाइ मात्रै प्रयोग गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा भनिएको छ । लज सञ्चालकले कोठोको निसंक्रमण भने दैनिक गर्नुपर्नेछ ।

प्रशासनले जिल्ला भित्र चल्ने सार्वजनिक यातायातका साधनमा जोर बिजोर प्रणालीलाई निरन्तरता दिएको छ । जोर गते जोर नम्बर प्लेट भएका सवारी साधन चल्नेछन् भने बिजोर गते बिजोर प्लेट नम्बर भएका सार्वजनिक सवारी साधन चल्नेछन् । प्रशासनले सार्वजनिक सवारी साधनलाई क्षमताभन्दा धेरै यात्रु राख्न नपाइने, गाडीमा सवार सबै यात्रुले मास्कको प्रयोग गर्नुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमण गर्नुपर्ने, जस्ता शर्तका आधारमा सञ्चालनको अनुमति दिएको हो । जिल्लाबाट अन्यत्रका लागि छुट्ने तथा चितवन हुँदै गुड्ने लामा दूरीका सार्वजनिक सवारीसाधनको हकमा भने सम्बन्धित यातायात व्यवसायी संघ समितिको सिफरिस अनिवार्य गरिएको छ ।

प्रशासनले कलेज तथा विद्यालयको सञ्चालनमा लगाइएको रोकलाई निरन्तरता दिएको छ । यद्यपि मापदण्ड पूरा गरी सञ्चालन गरिने पूर्वनिर्धारित परीक्षालाई भने प्रशासनले रोक लगाएको छैन । परीक्षा हलमा २५ जनाभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यहोरा प्रशासनले जनाएको छ । २५ जनाभन्दा बढी परीक्षार्थी भएका हकमा भने फरक फरक सिफ्टमा परीक्षा लिन प्रशासनले भनेको छ ।

पहिलो पटक वैशाख १६ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको प्रशासनले त्यसयता दशौँ पटक निषेधाज्ञाको अवधिलाई थपेको हो । पछिल्लो पटक चितवन जिल्लामा समेत कोरोना भाइरसको उत्परिवर्तित रूप (डेल्टा भेरियन्ट, बी.१.६१७.२) पुष्टि भएको र सो भेरियन्ट बढी संक्रामक रहेको बताउँदै प्रशासनले निषेधाज्ञालाई गम्भीरतापूर्वक पालना गर्न पनि भनेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट