भरतपुर, २७ जेठ ।
वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम सदनमा पेश गरेको छ ।
प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईंले प्रदेशसभाको बिहीबारको बैठकमा कोभिड–१९ को संक्रमण नियन्त्रण, रोकथाम र उपचार गरी नागरिकहरूको जीवनलाई सहज बनाउँदै अर्थतन्त्रलाई पुनरुत्थान गर्ने योजनासहितको नीति, कार्यक्रम पेश गरेका हुन् ।
कोभिड–१९ विरुद्धको खोपमा प्रदेशवासीको पहुँच पुर्याउन आवश्यकताअनुसार ‘प्रदेश प्रमुख कोभिड–१९ खोप कोष’ स्थापना गरी नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै बासिन्दाहरूलाई अनिवार्य रूपमा खोपको व्यवस्था गरिने प्रदेश प्रमुखले जनाएका छन् ।
कोभिडका कारण प्रदेशको अर्थतन्त्र र समग्र विकासमा परेको असरलाई न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा प्रदेश सरकारबाट सञ्चालित ‘उत्पादन तथा रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम’ लाई निरन्तरता दिइने बताइएको छ ।
प्रदेशका सबै कानूनहरू समेटिएको विद्युतीय पोर्टल सञ्चालनमा ल्याइने, प्रदेशस्तरीय आयोजना बैंक व्यवस्थापन प्रणालीको सुरुवात गरी आयोजनालाई व्यवस्थित गरिने तथा प्रदेश सरकारको प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम र बहुवर्षीय, अधुरा र क्रमागत आयोजनाहरूलाई बजेट विनियोजन सुनिश्चित गरेपछि अन्य आयोजना तथा कार्यक्रममा बजेट विनियोजन गर्ने व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।





