भरतपुर, २७ जेठ ।
चितवन राष्ट्रिय निकुञ्जसहित खटिएको टोलीले गैंडा मारेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार नवलपरासी गैंडाकोट नगरपालिका–३ ढोडेनीका मीन बहादुर भनिने ३२ वर्षीय खड्क बहादुर गुरुङ मंगलबार पक्राउ परेका हुन् ।
निकुञ्जको विशेष टोलीले नेपाली सेना र इलाका प्रहरी कार्यालयको सहयोगमा गुरुङलाई नियन्त्रणमा लिएको हो ।
निकुञ्जका अनुसार गुरुङमाथि निकुञ्जको पश्चिम क्षेत्र आइल्याणमा गत वर्षको भदौ १६ र १८ गते गैंडा मार्न हतियार उपलब्ध गराएको र आफैँले समेत गैंडालाई गोली हानेको अभियोग रहेको छ । उनी विरुद्ध नवलपुर जिल्ला अदालत र चितवन जिल्ला अदालतमा गैँडा मार्ने अपराध सम्बन्धी मुद्दा दायर भएको अधिकारीले जानकारी दिए । उनका अनुसार गुरुङ विरुद्ध नवलपुर जिल्ला अदालतमा दुईटा तथा चितवन जिल्ला अदालतमा एउटा मुद्दा दायर भएको छ ।
गुरुङको साथबाट बारुदका १२ वटा पोका, बन्दुकको बेरिङ १५ वटा, भरुवा बन्दुक बनाउने रड समेत बरामद भएको अधिकारीले बताए । गैंडा मार्ने उद्देश्यले उनी ६ पटक निकुञ्ज छिरेको र कम्तीमा चार वटा गैंडा मार्ने काममा उनी संलग्न भएको निकुञ्जको अभियोगमा उल्लेख छ । उनी लुक्दै हिँडेको भएपनि निकुञ्जले खोजी जारी राखेको थियो । योसँगै चितवन निकुञ्जले चालू आर्थिक वर्षमा गैंडा मुद्दामा २६ जनालाई पक्राउ गरेको छ ।
गैंडा मार्ने अभियोग लागेका केही व्यक्ति भने फरार छन् । फरारमध्ये यो वर्ष चारजना गिरफ्तार भएको अधिकारीले बताए । गैंडा मारेमा १५ वर्षसम्म कैद, १० लाख रुपैयाँसम्म जरिवाना तथा कैद र जरिवाना दुवै हुने कानूनी व्यवस्था छ ।





