२४ घण्टामा थपिए २८७४ जना संक्रमित, ५२९३ जनालाई निको

भरतपुर, २७ जेठ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ८ सय ७४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार प्रकाशन गरेको अद्यावधिक तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट गरिएका ९ हजार ९०१ परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् । यस्तै, एन्टिजेन विधिबाट गरिएका ५ हजार ३३७ परीक्षणमध्ये ८७५ वटा नमूनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कूल ३१ लाख ८९ हजार १०४ वटा पीसीआर परीक्षण भएका छन् । हालसम्म भएका एन्टिजन परीक्षणको संख्या भने ९१ हजार ३६८ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० वर्षसम्मको उमेर समूहका ६४८ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १ हजार ६८७ तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १७ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ५९ जनाको मृत्यु पुष्टि भएको छ । सोसँगै नेपालमा कूल मृतकको संख्या ८ हजार २३८ पुगेको छ ।

देशभर भाइरसका सक्रिय संक्रमितको संख्या भने ७७ हजार ८५८ रहेको छ । हाल सक्रिय संक्रमितमध्ये ७२ हजार १७८ जना होम आइसोलेसनमा छन् भने बाँकी ५ हजार ६८० जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै देशभर ६१६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर ३८२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै सघन उपचार कक्षमा उपचार गराइरहेका संक्रमितको संख्या १ हजार २६१ रहेको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै २४७ जनाले भेन्टिलेटरमा तथा ७२४ जना संक्रमित भने सघन उपचार कक्षमा छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ । यो कूल संक्रमितको करिब ८६ प्रतिशत हो ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५४०, ललितपुरमा १२५, भक्तपुरमा ९९ तथा चितवनमा ७२ जना नयाँ संक्रमित थपिएका छन् । वाग्मती प्रदेशका अन्य जिल्लाहरूमा काभ्रेमा ५९, धादिङमा ६२, नुवाकोटमा ७६, मकवानपुरमा ४४, सिन्धुपाल्चोकमा ३८ तथा दोलखामा ३९ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा चितवनका अन्य छिमेकी जिल्लाहरू पर्सामा १, नवलपुरमा ६०, नवलपरासीमा ३६, तनहुँमा ६० र गोरखामा ४६ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार प्रदेश नं १ का झापा, मोरङ र सुनसरी जिल्लामा क्रमशः १९२, १४३ १६६ जना संक्रमित थपिएका छन् । प्रदेश नं २ मा सबैभन्दा धेरै धनुषामा ५१ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कास्कीमा ११२ जना संक्रमित थपिएका छन् ।

लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै रुपन्देहीमा ७७ जना, कर्णाली प्रदेशको रुकुम पश्चिममा ४३ जना र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै कैलालीमा ६३ जना संक्रमित थपिएका छन् ।

हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्ला सहित चितवन, बाँके, रुपन्देही, लगायत विभिन्न ४६ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट