गैंडाकोट, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा गैंडाकोट जेसीजले वृक्षारोपण गरेको छ । गैंडाकोट-७ हरिहर मन्दिर परिसरमा वृक्षारोपण गरिएको गैंडाकोट जेसीजका महासचिव राजेश पौडेलले बताए ।
गैंडाकोट-७ का वडाध्यक्ष चोलानाथ उपाध्यायको प्रमुख आतिथ्यतामा गरिएको कार्यक्रममा बिशेष अतिथि नेपाल जेसीजका कानुनी सल्लाहकार तथा गैंडाकोट जेसीजका पूर्वअध्यक्ष गोकुल सापकोटा रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यायले बिरुवा रोप्ने मात्र नभइ रोपिएका विरुवाको संरक्षणमा समेत ध्यान दिन आग्रह गरे । त्यस्तै कार्यक्रमका बिशेष अतिथि सापकोटाले गैंडाकोट जेसीजले समाजमा राम्रा कार्यहरु गर्दै आएको स्मरण गर्दै वातावरण सन्तुलनमा युवाहरूले बिशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।
“एक बिरुवा मेरो उत्तरदायित्व” भन्ने मुल नाराका साथ आँप, लिची, लप्सीलगायतका बिरुवा रोपिएको कार्यक्रम संयोजक क्षितिज आचार्यले बताए । गैंडाकोट जेसीज वर्ष २०२१ का अध्यक्ष दया सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महासचिव राजेश पौडेलले गरेका थिए ।
सामाजिक तथा स्वास्थ सतर्कता अपनाइएको कार्यक्रममा जेसीजका पदाधिकारी, सदस्य तथा स्थानीयको उपस्थिति थियो ।





