सौराहामा फुड फेस्टिवल हुँदै

भरतपुर, २२ माघ ।
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सुस्ताएको मुलुकको पर्यटन व्यवसाय विस्तारै चलायमान बन्दै गएको छ । चलायमान हुँदै गएको सौराहाको पर्यटन व्यवसायलाई गति दिन सौराहा फुड फेष्टिवल गरिने भएको छ । १५औं संस्करणको सौराहा फुड फेष्टिवल यहि फागुन १ गतेदेखि ३ गतेसम्म हुनेछ । विशेषगरि प्रणय दिवसलाई लक्षित गरेर सौराहामा आन्तरिक पर्यटकलाई आकर्षण गर्न फुड फेष्टिवल गर्न लागिएको रेस्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । `हामीले घुमौं सौराहा गरिसकेका छौँ, सौराहा कोभिडबाट एकदम सुरक्षित छ´, खतिवडाले भने- `सौराहा सुरक्षित छ भन्ने सन्देश दिन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउन फुड फेष्टिवल गर्न लागेका हौँ ।´ उनका अनुसार सरकारले लागू गरेको स्वास्थ्य सुरक्षा सजगता अपनाएर कार्यक्रम गर्न लागिएको हो । कोभिड–१९ सङ्क्रमणपछि ठप्प रहेका सौराहाका सबै होटल पूर्ण रुपमा खुलेका छन् । व्यवसायीमा पनि उत्साह थपिएको छ ।

व्यवसायीले अङ्ग्रेजी नयाँ वर्ष अघि ‘घुमौँ सौराहा’ अभियान गरेका थिए । त्यतिबेला उनीहरूले प्रदेश नम्बर १, २ र बागमती प्रदेशका मुख्य शहरी क्षेत्रमा पुगेर अभियान चलाएका थिए । व्यवसायीले विराटनगर, धरान, जनकपुरलगायत पूर्वी नेपालका मुख्यमुख्य शहरमा कार्यक्रम गरेका थिए । ती कार्यक्रममा नेपाल सरकारको पर्यटन बोर्ड र स्थानीय तहहरूको सहयोग रहेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा वन, वनस्पति र वन्यजन्तु अवलोकनका लागि यहाँ पर्यटक आउने गर्दछन् । दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोही यहाँका मुख्य आकर्षण हुन् । यहाँ हात्ती सयर, डुङ्गा सयर, जीप सफारी, पैदलयात्रामार्फत निकुञ्ज र मध्यवर्ती क्षेत्र भ्रमण गराइने गरिन्छ । सौराहामा ठूलासाना गरि १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट