भरतपुर, २२ माघ ।
प्रधानमन्त्री खड्ग प्रसाद ओलीले संसद विघटन गरेको विरोधमा प्रदर्शनमा उत्रिएको नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ताले बिहीबार सडकमा गाडीसमेत चल्न रोक लगाइरहेका छन् । जनताका लागि आन्दोलन गरेको भनेका उनीहरूले सर्वसाधारणका ट्याक्सी, मोटरसाइकल पनि जलाइदिएका छन् ।
तर, उनीहरूका प्रमुख नेता भने विरोध प्रदर्शनको निरीक्षण गर्न भन्दै आफैं गाडी चढेर काठमाडौं घुमिरहेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल बा. १७ च ३०७१ नम्बरको टोयोटा ल्यान्ड क्रुजर गाडी चढेर ललितपुरको पुलचोक पुगेका थिए । त्यहाँ उनी गाडीबाट ओर्लिएर बीच सडकमा केही समय पलेटी कसेर बसे । त्यसपछि फेरि गाडी चढेर जावलाखेलतर्फ लागे । त्यहाँ उनले सडकमै बसेर बन्दकर्ताको नेतृत्व गरे । उनीसँगै पम्फा भुसाललगायत नेता–कार्यकर्ता पनि सहभागी भएका थिए ।
बिहानै प्रहरीले कलंकी चोकबाट नेत्री अष्टलक्ष्मी शाक्यसहितलाई नियन्त्रणमा लिएपछि कार्यकर्ताले विभिन्न स्थानबाट जुलुससहित प्रदर्शन गरेका थिए । चावहिल चोकबाट बिहान प्रहरीले कृष्ण केसीलगायत नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले काठमाडौं उपत्यकासँगै देशका विभिन्न स्थानबाट सयौँ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । प्रदर्शन सफल बनाउन दाहाल–नेपाल समूहले काठमाडौंका प्रमुख स्थानका लागि कमान्डर नै तोकेको थियो ।




