क्लिन स्वीप हुनबाट बच्यो भारत

भरतपुर, १७ मंसिर ।

अष्ट्रेलियाविरुद्धको ३ म्याचको एकदिवसीय शृंखलामा भारत क्लिन स्वीप हुनबाट जोगिएको छ । बुधबार सम्पन्न तेश्रो तथा अन्तिम एकदिवसीय खेलमा घरेलु टोलीलाई १३ रनले हराउँदै भारतले क्लिन स्वीप टारेको हो । यद्यपि समग्र २–१ को नतिजा निकाल्दै शृंखला भने अष्ट्रेलियाले जितेको छ ।

क्यानबेरास्थित मनुका ओभलमा भारतले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याउने क्रममा कंगारु टोली खेल सकिन ३ बल बाँकी छँदै २८९ रनमा अलआउट हुन पुग्यो । उसका लागि कप्तान एरोन फिन्चले सर्वाधिक ७५ रनको योगदान गरेका थिए । यस्तै अलराउण्डर ग्लेन म्याक्सवेलले ३८ बलमा ५९ रन जोड्दै अष्ट्रेलियालाई लक्ष्यसम्म पु¥याउने कोसिस गरेका थिए । पारीको ४५औँ ओभरमा जस्प्रित बुम्राहाले म्याक्सवेललाई बोल्ड गरेपछि भारत जीत नजिक पुगेको थियो । म्याक्सवेलका अलावा विकेटकिपर एलेक्स क्यारीले ३८ तथा एस्थन एगरले २८ रन जोडेपनि त्यो जीतका लागि पर्याप्त भने हुन सकेन । अष्ट्रेलियालाई कम रनमा समेट्न शार्दुल ठाकुरले ३ तथा जस्प्रित बुम्राहाले २ विकेट लिए । यस्तै, आफ्नो पहिलो खेल खेलिरहेका टि नटराजनले २ विकेट हात पार्दा कूलदीप यादव र रवीन्द्र जडेजाले पनि १–१ विकेट चट्काए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३०२ रनको योगफल खडा गरेको थियो । उसका लागि हार्दिक पाण्डेयले सर्वाधिक ९२ नट आउट रनको योगदान दिए । उनले पारीमा कूल ७ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै अलराउण्डर रवीन्द्र जडेजा ६६ रनमा अविजित रहँदा कप्तान विराट कोहली ६३ रन बनाएर आउट भए । आफ्नो ओडिआई करियरको ६०औँ अर्धशतक पूरा गर्ने क्रममा उनले १२ हजार करियर रन समेत पूरा गरे । उक्त कोशेढुंगा पुग्न उनले सबैभन्दा कम २४२ पारी खर्चिएका थिए । भारतलाई उच्च योगफलसम्म लैजान ओपनर शुभमन गीलले पनि ३३ रनको योगदान दिए । खेलमा अष्टे«लियाका लागि एस्थन एगरले २ विकेट हात पार्दा एडम जाम्पा र सन एबटले पनि १–१ विकेट लिए । भारतविरुद्ध आफ्नो पहिलो एकदिवसीय खेलिरहेका केमरन ग्रीनले पनि आफ्नो पोल्टामा १ विकेट राख्न सफल भए ।

तेश्रो एकदिवसीयमा जीत निकाल्दै भारतले आइसीसी क्रिकेट वल्र्ड कप सुपर लिगमा खाता खोल्न सफल भएको छ । तीन खेलमा एक जीत र दुई हारसहित १० अंक जोडेको भारत लिगको अंकतालिकामा चौँथो स्थानमा उक्लिएको छ । ६ खेलमा ४ जीत सहित ४० अंकमा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ भने दोश्रो स्थानको इंगल्याण्डले ६ खेलमा ३ जीत हात पार्दै ३० अंक जोडेको छ ।

कंगारु र मिन इन ब्लुबीचको तेश्रो एकदिवसीय खेलमा हार्दिक पाण्डेयले म्यान अफ दि म्याच पुरस्कार प्राप्त गरे भने स्टिभ स्मीथ म्यान अफ दि सिरीज घोषित भए । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले त्यहाँ रहँदा ३ टिट्वान्टी र ४ टेष्टको शृंखला पनि खेल्ने तालिका रहेको छ । यी दुई बीचको टिट्वान्टी शृंखला आगामी शुक्रबार क्यानबेरामा सुरु हुँदैछ ।

(क्रिकइन्फोको सहयोगमा)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट