खैरहनी, १७ मंसिर ।
खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम बुधवार गरिएको छ । गत आर्थिक वर्षको अन्तिम चौमासिक सार्वजनिक सुनुवाई कोरोना भाइरस संक्रमणका कारण आयोजना गर्न नसकिए पनि यस वर्ष भने स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रम गरिएको हो । कार्यक्रममा उपस्थित नगरबासीले नदीजन्य पदार्थ तस्कर नियन्त्रण गर्नुपर्ने विषयलाई बढी प्राथमिकता दिए । खैरहनी ८ का बाबा पराजुलीले रातको समयमा तस्कर भइरहेको भन्दै नियन्त्रणका लागि नगरपालिका र प्रहरी प्रशासनले कडाइ गर्नुपर्ने बताए । “ट्याक्टर व्यवसायी ट्याक्टर थन्काएर राखेको महिनौ भईसक्यो”, पराजुलीले भने, “कतिपय रात बिहान चोरीमा सलग्न हुँदा समेत सम्बन्धित निकायले नियन्त्रणको काम गर्न सकेन ।”
जवाफमा इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले चोरी, तस्करी नियन्त्रणको काम प्रहरी एक्लैले नसक्ने भएकाले समाजको पनि सहयोग हुनुपर्ने औल्याए । “तस्करी नियन्त्रणमा निरन्तर काम भएपनि शून्यमा झार्न भने सकिएको छैन”, प्रहरी निरीक्षक मगरले भने, “चोरी भएको सूचना नदिने तर नियन्त्रणमा लिँदा छुटाउन सिफारिस गर्ने परिपाटी छ, त्यसलाई हटाउनु पर्छ ।” नियन्त्रणमा लिइएको सवारी छुटाउन राजनीतिक दलका नेताबाट सिफारिस आउने गरेको उनको भनाइ थियो ।
नदीजन्य पदार्थ चोरीको विषयमा खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले सबैले जिम्वेवारी लिनुपर्नेमा जोड दिए । “प्रहरीबाट पनि सूचना चुहिएका छन् । त्यसलाई सुधार गर्नुपर्छ”, मेयर चौधरीले भने, “नियन्त्रणमा लिएपछि छुटाउन पनि कसैले सिफारिस गर्नु हुँदैन, कारवाहीको दायरामा ल्याउनुपर्छ ।”
उपस्थितमध्ये उद्योग संघ खैरहनी इकाई अध्यक्ष प्रतिभा श्रेष्ठले उद्योगहरूलाई नगरपालिकामा दर्ता गर्न प्रेरित गर्नु पर्ने र उद्योगको बिस्तार भइरहेका क्षेत्रमा औद्योगिक कोरिडोर बनाउनुपर्नेमा जोड दिइन् । नेकपा खैरहनी नगर इन्चार्ज हिरा बहादुर गुरुङले जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा जनता समाजवादी पार्टीका नगर अध्यक्ष राजकुमार बर्तौला, लक्ष्मण वर्तौला, रामचन्द्र तिवारी, केशव भट्टराई, ग्रेट एफएमका अध्यक्ष रामेश्वर रिजाल, लगायतले आफ्ना भनाइ राखेका थिए । सहभागीहरुले राखेका जिज्ञासाको मेयर चौधरीले जवाफ दिएका थिए । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले नगरपालिकाले प्रथम चौमासिकमा गरेका प्रगति विवरण पनि प्रस्तुत गरेका थिए ।





