भरतपुर, १७ मंसिर ।
बेलायतले फाइजर र बायोएनटेकद्वारा निर्मित कोरोना भाइरसविरुद्धको खोपको प्रयोगका लागि अनुमति दिएको छ । खोपको निर्माण भने बेल्जियममा भएको हो । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी९एमएचआरए० ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । यससँगै कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ ।
फाइजर र बायोएनटेकले विकास गरेका खोप मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको समाचार हालै मात्र प्रकाशित भएको थियो । यद्यपि खोपलाई भण्डारण गर्न –७० डिग्री सेल्सियसको न्यूनतम तापक्रम आवश्यक पर्ने बताइएको छ ।
बीबीसीका अनुसार केही दिनमै कोरोनाको उच्च जोखिममा रहेका व्यक्तिलाई खोप दिइनेछ । बेलायतले फाइजरसँग करिब ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ । पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने फाइजरले जनाएको छ । यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो ।
बेलायत सरकारले अक्सफोर्ड र एस्ट्राजेनेकाको १० करोड र मोडेर्नाको ५० लाख डोज यसअघि नै मगाइसकेको छ । कोरोना खोप सुरुमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का कर्मचारीलाई र त्यसपछि केयर होममा रहेका र ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई दिइनेछ । सरकारले यसअघि कोभिड संक्रमणको उच्च जोखिममा पर्ने ‘केयर होम’ मा रहेकाहरू र ८० वर्षभन्दा माथिकालाई खोपमा पहिलो प्राथमिकता दिने बताएको थियो ।
दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ ।
बेलायतमा कोभिड प्रतिरोधी खोप वितरणको जिम्मा व्यापार मन्त्री नाधिम जहावीलाई दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले जहावीलाई कम्तीमा आउँदो गर्मीयामसम्म खोप वितरणको रेखदेख गर्न नियुक्त गरेको जनाइएको छ ।
(बीबीसी र रोयटर्सको सहयोगमा)





