भरतपुर, ९ मंसिर ।
कोभिड-१९का कारण लकडाउन गरिएपछि गत चैतदेखि बन्द रहेका नारायणी नदीमा चल्ने मोटरबोट ८ महिनापछि पुनः सञ्चालमा आएका छन् । जनजीवन सामान्य बन्दै गएपछि कार्तिक महिनाको मध्यदेखि नारायणी नदीमा मोटरबोट चल्न थालेका हुन् ।
नारायणीमा मोटरबोट सञ्चालनका लागि भरतपुर नगरपालिकाबाट अनुमति लिएका ५ वटा मोटरबोट कम्पनीहरू ॐ सत्य श्री पगलाबाबा एडभ्यान्चर, आयुष्मा मोटरबोट स्टेसन, एचएस मोटरबोट प्रालि, रंगमहल मोटरबोट र एमटिएस मोटरबोटले लकडाउन हुनु अगाडिसम्म नियमित सेवा दिइरहेका थिए । लकडाउन सकिएपछि जनजीवन सामान्य बन्दै जान थालेपछि रंगमहल मोटरबोट बाहेक अरु ४ वटा कम्पनीका मोटरबोटहरू अहिले नारायणीमा मज्जाले कुदिरहेका छन् ।
ॐ सत्य श्री पगलाबाबा एडभान्चरका ४ वटा मोटरबोटमा अहिले दुईवटा मात्रै चलेका छन् । सञ्चालक मनोज न्यौपानेका अनुसार अवस्था सामान्य बने पनि मानिसहरू ढुक्क भएर जलबिहार गर्न आएका छैनन् । “यात्रु नै नभएपछि दुई वटा मोटरबोट थन्काइएको छ”, न्यौपानेले भने, “दुई वटा मात्रै चलाइएको छ, दिनभरीमा ४०-५० जनालाई जलबिहार गराइएको छ ।”
आयुष्मा मोटरबोट स्टेसनले जलबिहारका लागि ३ वटा बोट राखेको छ । यीमध्ये अहिले दुईवटा मात्रै सञ्चालनमा छन् । सञ्चालक बद्रीनाथ बरालका अनुसार अहिले चहलपहल पनि कम भएकोले यात्रुहरू छैनन् । सिट संख्याभन्दा कम यात्रु राखेरै भए पनि सेवा दिइएको उनले बताए ।

एचएस मोटरबोट प्रालिका ४ वटा बोटमध्ये अहिले ३ वटा चलिरहेका छन् । सबै मोटरबोट गरेर दैनिक १ सय जनालाई जलविहार गराइएको सञ्चालक बुद्द शर्माले बताए । हिजोआज पहिलेजस्तै जलबिहारकै लागि भनेर आउनेहरू कम छन् । बिस्तारै अवस्था सामान्य बनेपछि यात्रुहरू बढ्ने शर्माले विश्वास लिएका छन् । एमटीएस मोटरबोटका २ वटा मात्रै बोट छन् । अहिले दुइटै सञ्चालनमा रहेको सञ्चालक मदन कर्माचार्यले बताए ।
मज्जाले घाम लागेको बेलामा मानिसहरू नारायणीमा जलबिहार गर्न रुचाउँछन् । मोटरबोट कम्पनीले अहिले दुई रुटमा बोट सेवा दिइरहेका छन् । छोटो दूरीको लागि प्रतिव्यक्ति २ सय रुपैयाँको टिकट छ । यो रुटमा माथी महेन्द्र बसपार्कदेखि तल नगरवन सम्मको यात्रा गराइन्छ । करिव ७-८ मिनेटको अवधिमा यात्रुले जलबिहार गरेर रमाइलो मान्छन् ।
अर्को रुट अलि लामो छ । प्रतिव्यक्ति ५ सय रुपैयाँको टिकटमा महेन्द्र बसपार्कदेखि नारायणी पुलहुँदै तल रामघाट, शिवघाटसम्मको यात्रा गराउँछन् । यो यात्रा करिब २० मिनेट जतिको हुन्छ । यो यात्रामा यात्रुले नगरवन, गैंडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।
अहिले नारायणीमा चलिरहेका मोटरबोटहरू अधिकांश १० सिट क्षमताका छन् । सामान्य जलविहारका लागि यी बोटहरू सजिलो पनि मानिन्छन् ।





