मास्क लगाएर लेखे परीक्षार्थीले परीक्षा

भरतपुर, ९ मंसिर ।

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु भएको छ । परीक्षार्थीहरूले आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका हुन् । कोरोना भाइरस महामारीका कारण शैक्षिक सत्र २०७६/७७ को अन्तिम परीक्षाको मिति धकेलिन पुगेको थियो । कोरोना भाइरस महामारी पूर्णरूपले नियन्त्रणमा नआइसकेकाले भरतपुर महानगरपालिका क्षेत्रका परीक्षा केन्द्रमा पनि परीक्षार्थीहरूले शारीरिक दूरी कायम गरी परीक्षा दिएका थिए । त्यस्तै मास्क र सेनिटाइजरको प्रयोगलाई पनि अनिवार्य बनाइएको थियो । “एउटा बेन्चमा एक जना मात्रै विद्यार्थी थियौं । दूरी कायम गरेकाले संक्रमण नसर्ला भन्ने लागेको छ”, लक्ष्मी मा.वि. लंकू, भरतपुर ४ परीक्षा केन्द्रमा परीक्षा दिन आएका मनोज कुमालले बताए ।

परीक्षार्थीले यसअघिका वर्षमा १०० पूर्णांकको परीक्षा दिने गरेकामा यस पटक भने पूर्णांकलाई ४० मा झारिएको छ । परीक्षार्थीले कक्षा ११ मा प्रति विषयमा प्राप्त गरेको अंकलाई ४० पूर्णांकमा रूपान्तरण गरी कक्षा १२ को अन्तिम प्राप्तांकमा जोडिने छ । बाँकी २० अंकका लागि भने परीक्षार्थीहरूले आन्तरिक मूल्यांकनबाट गुज्रिनुपर्नेछ । “थोरै पूर्णांकको परीक्षा दिनुपर्दा केही अनौठो पनि लाग्यो । महामारीको त्राश र अन्यौलका कारण भने परीक्षाको तयारीका लागि लागि धेरै समय छुट्याउन सकिएन”, परीक्षार्थी एकराज गुरुङ्गले सुनाए ।

यस पटक राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीहरूका लागि आफूले अध्ययन गरेको विद्यालयबाटै परीक्षा दिन पाउने व्यवस्था पनि गरेको थियो । “अरु बेला अन्यत्रका विद्यालयमा परीक्षा दिन जानुपर्दा अत्तालिने समस्या आउन सक्थ्यो । यस पटक आफू पढेकै विद्यालयमा परीक्षा दिन पाउँदा खासै डरको अनुभूति भएन”, वाल्मिकी शिक्षा सदन, भरतपुर ४ की परीक्षार्थी योजना रिजालले बताइन् । वाल्मिकी शिक्षा सदनले भाइरसको सम्भावित फैलावटलाई रोक्न भन्दै परीक्षा कक्षाकोठा बाहिर सञ्चालन गरेको थियो । त्यहाँ परीक्षार्थीहरूलाई खुल्ला बरण्डामा बसाएर परीक्षा लेख्न लगाइएको विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त चालिसेले बताए । उक्त केन्द्रमा सञ्चालित पहिलो दिनको परीक्षामा कूल ५४६ जना परीक्षार्थीको उपस्थिति रहेको थियो । वाल्मिकी शिक्षा सदनले परीक्षा अवधिभर परीक्षा केन्द्रमा हेल्थ डेस्क समेत रहने जनाएको छ । परीक्षार्थीहरूलाई कुनै प्रकारको समस्या भएका खण्डमा हेल्थ डेस्कमा रहेका तीन जना नर्सहरूसँग सल्लाह लिन सक्ने विद्यालयका शिक्षक रवीन्द्र राज विष्टले कायाकैरनलाई बताए । परीक्षा केन्द्रहरूमा मुख्य प्रवेशद्वारबाट छिर्ने क्रममा नै परीक्षार्थीहरूको ज्वरो नाप्ने व्यवस्था पनि गरिएको थियो । यस्तै, लक्ष्मी मा.वि.मा भने ५८ जना उपस्थित रहेको त्यहाँका प्रधानाध्यापक रेशमबाबु ढकालले जानकारी दिए ।

भरतपुर महानगरपालिकामा कक्षा १२ सम्मको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने २९ वटा सामुदायिक र २५ वटा संस्थागत विद्यालय छन् । यसअघि २०७७ वैशाख ८ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ र वैशाख २१ गतेदेखि सुरु हुने भनिएको कक्ष ११ को वार्षिक परीक्षालाई कोभिड–१९ महामारीको जोखिम बढेको कारण देखाउँदै बोर्डले स्थगित गरेको थियो । बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा आफैँ सञ्चालन गर्न अनुमति दिएपछि विद्यालयहरूले उक्त कक्षाको परीक्षा भने विभिन्न मितिमा सकिसकेका छन् । बोर्डले कोभिड–१९ संक्रमित परीक्षार्थीहरूलाई जारी परीक्षामा सहभागी नहुन अनुरोध गर्दै सूचना निकालेको थियो । त्यस्ता परीक्षार्थीहरू संक्रमणबाट मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने पनि बोर्डले प्रष्ट पारेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट