पछिल्लो २४ घण्टामा ३०९३ संक्रमित थपिए, २१०८ डिस्चार्ज

भरतपुर, ४ कार्तिक ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले त्यसको जानकारी गराएका हुन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ७०२ संक्रमित थपिएका छन् ।

मन्त्रालयले काठमाडौँमा १ हजार ४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएको जनाएको छ । हाल काठमाण्डौँ उपत्यकाका तीन जिल्लासँगै झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, कास्की, रुपन्देही, दाङ, सुर्खेत, कैलाली र बाँकेमा सक्रिय संक्रमितको संख्या अझै पनि ५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । मुस्ताङ भने हाल सक्रिय संक्रमित नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले पीसीआर विधिबाट हालसम्म कूल १३ लाख १४ हजार ७७९ वटा परीक्षण गरिएको जनाएको छ । पछिल्लो २४ घण्टामा भने १३ हजार ८६१ परीक्षण भएका हुन् ।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या पनि ४१ हजार ७७५ पुगेको छ । हाल सक्रिय संक्रमितमध्ये १३ हजार ५५९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २८ हजार १९६ जना होम आइसोलेसनमा बसेका छन् । त्यस्तै देशभर ४ हजार २२० जना क्वारेन्टिनमा छन् । वाग्मती प्रदेशमा मात्रै ७ हजार ८६१ जना संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन् भने १७ हजार २६६ जना होम आइसोलेसनमा छन् । वाग्मती प्रदेशमा क्वारेन्टिनमा रहेकाको संख्या भने ३०५ रहेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार १०८ जना संक्रमणमुक्त भएका छन् । सोसँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । यो कूल संक्रमितको करिब ६९.४ प्रतिशत हो । वाग्मती प्रदेशमा मात्रै हालसम्म ४४ हजार २५७ जना संक्रमणमुक्त भइसकेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । थपिएको संख्यासँगै नेपालमा कूल मृतकको संख्या ७६५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमका अनुसार हाल देशभर ७८ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ भने २७३ जनाले सघन उपचार कक्षमा उपचार गराइरहेका छन् । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४९ जनाको भेण्टिलेटरमा तथा १५० जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट