दिल्लीविरुद्ध पञ्जाब जीतको खोजीमा

भरतपुर, ४ कार्तिक ।

इण्डियन प्रिमियर लिग आइपिएलमा आज किंग्स इलवेन पञ्जाब र दिल्ली क्यापिटल्सबी खेल हुँदैछ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार राति ७ः४५ बजे सुरु हुनेछ । पञ्जाबलाई लिगको अन्त्यमा शीर्ष चारभित्र रहन दिल्ली विरुद्धको खेल जित्नै पर्ने दबाब छ । आफूले खेलेका ९ खेलमध्ये केवल तीनमा जीत हात पारेको पञ्जाब ६ अंकमा तालिकाको सातौँ स्थानमा रहेको छ । अंकतालिकाको पहिलो स्थानमा रहेको दिल्लीले भने पञ्जाबलाई हराउँदै दोश्रो स्थानको मुम्बईसँगको अंकको अन्तर बढाउने धुनमा हुनेछ । दिल्लीले भने ९ खेलबाट ७ जीत र २ हार सहित कूल १४ अंक जोडेको छ ।

लिगको पहिलो राउण्डमा यी दुई टोलीबीच भेट हुँदा खेललाई दिल्लीले सुपर ओभरको सहायताले आफ्नो पक्षमा पारेको थियो । दिल्लीले आज पनि सोही लयलाई जारी राख्दै पञ्जाबलाई फेरि परास्त गर्ने सोचेको छ । यद्यपि उसले त्यसका लागि ठूलै कसरत गर्नुपर्ने देखिन्छ । प्रतियोगितामा खराब सुरुवात गरेको पञ्जाब क्रिश गेलको पुनरागमनपछि भने थप सशक्त भएर आएको छ । पञ्जाबले पछिल्ला दुई खेलमा जीत हात पार्दै आफूलाई कमजोर नआँक्न सन्देश दिएको छ । विष्फोटक गेल तथा कप्तान लोकेश राहुल र मयंक अग्रवालको जोडी क्रिजमा जमेका खण्डमा पञ्जाबले जस्तोसुकै योगफल पनि तयार पार्न सक्छ । त्यसैले शीर्ष क्रमका यी तीन ब्याट्सम्यान दिल्लीका लागि खतरनाक साबित हुुन सक्छन् ।

जारी प्रतियोगितामा ओपनर शिखर धवन, कप्तान श्रेयस अय्यर र अलराउण्डर मार्कस स्टोइनिन्सको सुन्दर फर्मबाट यसअघिका खेलमा दिल्लीले खुबै फाइदा लिएको छ । यस्तै चेन्नई सुपर किंग्स विरुद्धको खेलमा प्रभाव छाडेका अक्षर पटेलको अलराउण्ड प्रदर्शनका कारण पनि दिल्लीलाई थप हौसला मिलेको छ । नियमित विकेटकिपर ऋषभ पन्तले चोट बोकेपछि उनको ठाउँमा आएका एलेक्स क्यारीको खराब फर्मले भने दिल्लीलाई केही चिन्ता थपिदिएको छ । उता मुम्बई इण्डियन्स विरुद्ध सुपर ओभरमा उत्कृष्ट प्रदर्शन गरेका पञ्जाबका मोहम्मद समीले दिल्लीविरुद्ध पनि सोही प्रदर्शनलाई निरन्तरता दिने सोच बनाउनेछन् । उनीसँगै युवा स्पीनर रवि विस्नोयी र बायाँहाते मिडियम फास्ट बलर अर्सदीप सिंहबाट पनि पञ्जाबले राम्रै अपेक्षा राखेको हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट