चितवनमा प्लाज्मा संकलन सुरु, जटिल संक्रमितको उपचारमा आजै प्रयोग गरिने

भरतपुर, १८ भदौ
कोरोना संक्रमणबाट जटिल समस्या भोगेकालाई प्लाज्मा थेरापी निकै उपयोगी मानिएको छ । एकपटक कोरोना नै लागेर त्यसलाई जितेका व्यक्तिको शरीरबाट झिकिएको रगतबाट छुट्याइएको प्लाज्मा कोरोना भाइरसका सक्रिय संक्रमितलाई चढाएर गरिने उपचार विधि प्लाज्मा थेरापी हो ।

त्यसका लागि सबैभन्दा पहिले त कोरोना जितेका व्यक्ति रगत दिन तयार हुनुप¥यो । चितवनमा पनि यो विधिको उपचार पद्धति सुरु गरिँदै छ । यसका लागि स्वतस्फूर्त रगत दिनेहरु पनि निस्किकेका छन् ।

मनकारीहरुले यहाँ प्लाज्मा दान सुरू गरेका छन् । कोरोना भाइरसको संक्रमणमुक्त भएका तीन जनाले बिहीबार भरतपुरस्थित रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरले संक्रमणमुक्त हुनेहरूलाई स्वागत गर्दै प्लाज्मा दानको सुरूआत गरिएको घोषणा गरेको हो । प्लाज्मा दान गर्नेहरूले कोरोनासँग लडिरहेकाहरूलाई रगत दिन पाउँदा खुसी लागेको बताए ।

यसरी दान गर्ने मनकारीमध्ये एक हुन् भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अधिकृत माधव पौडेल । उनको परिवारमा ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको थियो । उनी कोरोनामुक्त भएको १४ दिनभन्दा बढी भयो । भरतपुरमा प्लाज्मा दानको तयारी भइरहेको थाहा पाएपछि उनले चासो देखाए । “मेरो रगतले कसैको जीवन बच्छ भने मैले किन नदिने भन्ने लाग्यो”, पौडेलले भने, “मैले उत्साह र उच्च मनोबलका साथ प्लाज्मा दान गरेको छु ।”

हिजो मात्रै भरतपुर अस्पतालले अपील जारी गरेर प्लाज्मा दान गर्न आह्वान गरेको थियो । अस्पतालले कोरोना जितेका सबैलाई सम्बोधन गरेर कसैको ज्यान बच्छ भने एक पोका रगत दान गर्न भनेको थियो ।

अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा प्लाज्मा थेरापीको आवश्यकता महसुस भएको बताए । “जटिल अवस्थाका बिरामीको संख्या बढ्दो छ”, उनले भने, “उनीहरूको ज्यान जोगाउनका लागि अस्पतालले रक्तसञ्चार केन्द्रसँग समन्वय गरेर प्लाज्मा संकलनको काम सुरू गरेको हो ।” प्लाज्मा बैंकका रूपमा खडा गरेर प्लाज्मा संकलन गर्ने काम सुरू भएको भन्दै आवश्यकताअनुसार उपयोग गर्दै जाने उनले बताए ।

“धेरैजना दान गर्न सकारात्मक देखिनुभएको छ”, उनले भने, “सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर प्लाज्मा संकलन गरिनेछ ।” उनले कोरोना भाइरसको औषधि नै फेला नपरेको समयमा प्लाज्मा दिएर बिरामी बचाउन तयार हुनेहरू महानायक रहेको भन्दै समाजले पनि उनीहरूलाई सम्मान गर्नुपर्ने बताए ।

अस्पतालका फिजिसियन ड. प्रमोद पौडेलले बिरामीको शरीरमा रहेको भाइरसले निम्त्याएको जटिलतालाई प्लाज्माले सहज बनाउने बताए । संक्रमणमुक्त भएकाहरूको रगतले संक्रमितको जीवन बाँच्ने भएका कारण बुझाउने काम भइरहेको बताए ।

नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भेन्टिलेटरमा रहेका कोरोना संक्रमितलाई बिहीबार नै प्लाज्मा थेरापीका लागि प्लाज्मा प्रदान गरिने बताए । अस्पतालका निर्देशक डा.दयाराम लम्सालले भेन्टिलेटरमा रहेका बिरामीलाई प्लाज्मा थेरापीका लागि अन्तिम तयारी भएको बताए ।

धेरै दाताहरुले प्लाज्मा दानमार्फत सहयोगका लागि तयार रहेको बताएको पौडेलले जानकारी दिए । मनोपरामर्शदाताहरूको सहयोगमा आवश्यक परामर्श दिँदै धेरैलाई सहभागी बनाउने लक्ष्य रहेको उनले बताए । चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या ८६२ पुगेको छ । उनीहरूमध्ये अहिलेसम्म १ सय ५६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसबाट संक्रमित चितवनका ११ जनाको अहिलेसम्म मृत्यु भइसकेको छ ।

जिल्लामा रहेका ५० वटा भेन्टिलेटर र अधिकांश आईसीयू शैयाहरू कोरोना संक्रमितहरूले भरिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट