भरतपुर, १८ भदौ ।
भरतपुर अस्पतालमा उपचारका क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार चितवन जिल्ला राप्ती नगरपालिका ९ की ३५ वर्षीया महिलाको उपचारका क्रममा बिहीबार साँझ ५ः१० बजे मृत्यु भएको हो । मृतक महिलाको मिर्गौला विगत ३ महिनादेखि काम नलाग्ने भएको र निजले डायलाइसिस गराइरहेको अस्पतालले बताएको छ ।
अस्पतालका अनुसार भदौ १४ गते मेडिकल सघन उपचार कक्षमा भर्ना भएकी ती महिलामा श्वासप्रश्वास सम्बन्धी समस्या पाइएको र पीसीआर परीक्षण गर्दा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था थप जटिल हुँदै गएपछि उनलाई मेडिकल आईसीयू बाट भेण्टिलेटर सहितको कोभिड आईसीयूमा सारिएको थियो । तिनी महिलासँगै उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।




