भरतपुर, १३ भदौ ।
चितवन जिल्लामा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा भदौ १२ गते परीक्षण गरिएका १९६ मध्ये ६५ वटा नमूनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका माइक्रोबायोलोजिष्ट नवीन कुमार चौधरीका अनुसार भरतपुर महानगरपालिकाका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरको वडा नं-४ मा दुई महिला र १३ पुरुष सहित १५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । महानगरका वडा नं २, ६, १४, १९ र २८ का एक–एक जनामा कोरोना देखिएको छ । वडा नं-१० मा भने ७० र ३५ वर्षका दुई पुरुषमा कोरोना संक्रमण देखिएको हो । भरतपुर महानगरपालिकाका संक्रमितहरू २२ देखि ७० वर्ष उमेर समूहका रहेका छन् ।
यस्तै राप्ती नगरपालिकाको वडा नं ८ निवासी २३ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । यस्तै, रत्ननगर नगरपालिकाको वडा नं-४ का ३७ जना र वडा नं-१० का एक जनामा कोरोना देखिएको छ । रत्ननगर नगरपालिकाको वडा नं-४ मा थपिएका संक्रमितमध्ये ३५ जना पुरुष हुन् भने दुई जना ४३ र ५४ वर्षीया महिला भएको अस्पतालको विवरणमा भनिएको छ । रत्ननगर नगरपालिकामा सबैभन्दा बढी ३८ जनामा संक्रमण पुष्टि भएको हो । नगरपालिकाका संक्रमितहरू १७ देखि ५९ वर्ष उमेर समूहका रहेका छन् । अस्पतालका अनुसार चितवन जिल्लाका ६१ जनामा संक्रमित थपिएका हुन् ।
यस्तै, नवलपुरको गैंडाकोट-१० का ४६ वर्षीय पुरुष, तनहुँको भानु-४ का ३३ वर्षीय पुरुष, रुपन्देहीको लुम्बिनी-३ का ३२ वर्षीय पुरुष र पाल्पाको रम्भा-३ का ६४ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।





