भरतपुर, १३ भदौ
मुलुकभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ । मुलुकका १६ हजार ५ सय ७८ जना सक्रिय संक्रमित मध्ये ६ हजार ४ सय ४५ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै प्रदेश २ मा ३ हजार ८ सय ४७ जना होम आइसोलेसनमा छन् ।
त्यस्तै बागमती प्रदेशमा मा १ हजार ६ सय ३२, प्रदेश १मा ४ सय २७, प्रदेश ५ मा ३८९, सुदूरपश्चिम प्रदेशमा ११५, गण्डकी प्रदेशमा १८ र कर्णाली प्रदेशमा १७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
शनिबार देशभर १ सय ९७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको तथ्यांक अनुसार २२ जना भेन्टिलेटरमा र १७५ जना संक्रमित आइसियूमा उपचाररत छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ७८ जना र १७ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै प्रदेश १ मा १५ जना आइसियू र ३ जना भेन्टिलेटरमा रहेका छन् ।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १७ आइसियू र २ जना भेन्टिलेटरमा, कर्णली प्रदेशमा २४ आइसियूमा र सबैभन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।
नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ०.५५ प्रतिशत हो ।
मृत्यु हुनेमा ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमित भएका छन् । मृतकहरुमा पाल्पा, कास्की र भक्तपुरका एकएक जना महिला छन् । पर्सा र ललितपुरका दुईदुई जना, सिराहा, गोरखा, कास्की, काठमाडौं र भक्तपुरका एकएक जना पुरुषको समेत मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
योसहित नेपालमा हालसम्म २० हजार ५५५ उपचारपछि निको भएका छन् । यो कुल संक्रमितको ५५ प्रतिशत हो ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रिमत थपिएका छन् । शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
हाल १६ हजार ५७८ सक्रिय संक्रमित छन् । ६४४५ जना होम आइसोलेसनमा छन् भने १०१४५ संस्था आइसोलेनसमा छन् ।
आज ११ हजार ५१६ जनाको पिसिआर परीक्षण भएको छ भने हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा छन् ।





