भरतपुर, १३ भदौ ।
नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २०० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २०७ पुगेको हो । यो कूल कोरोना पुष्टि भएका संक्रमितको संख्याको ०.५५ प्रतिशत हो । शुक्रबार पनि देशभर १२ जनाले कोरोनाका कारण नै ज्यान गुमाउन पुगेका थिए । भदौ महिना सुरु भएयता मात्रै १०३ जनाले ज्यान गुमाइसकेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको कोभिड–१९ प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या भने १६ हजार ५७८ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३१३ जना संक्रमणबाट मुक्त भई घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या भने २० हजार ५५५ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै मन्त्रालयका अनुसार हाल देशभर ८ हजार ३५ जना क्वारेन्टाइनमा छन् भने १६ हजार ५७८ जना आइसोलेसनमा छन् । मन्त्रालयले हालसम्म पीसीआर विधिबाट ६ लाख ६९ हजार ६२६ वटा परीक्षण गरिएको जनाएको छ ।





