भरतपुर, ११ भदौ ।
चितवन जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ४७१ पुगेको छ । भरतपुर अस्पतालले आफ्नो फेसबुक अकाउण्टमार्फत बिहीबार दिउँसो त्यसबारे जानकारी दिएको हो । कूल संक्रमितमध्ये ६० प्रतिशत भरतपुर महानगरपालिकाका रहेका छन् भने इच्छाकामना गाउँपालिकामा संक्रमितको प्रतिशत शून्य रहेको छ । अस्पतालका अनुसार हाल जिल्लाभर ३४० सक्रिय संक्रमित रहेका छन् भने १२८ जना रोगमुक्त भई घर फर्किसकेका छन् । कूल सक्रिय ३४० संक्रमितमध्ये २५३ जनाको विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ भने ८७ जना होम क्वारेन्टिनमा रहेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार संक्रमणका कारण हालसम्म जिल्लामा ३ जनाले ज्यान गुमाएका छन् । अस्पतालले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा ८५ जना स्वास्थ्यकर्मीमा भाइरसको संक्रमण पुष्टि भएको छ ।
यता अस्पतालले हालसम्म १८ हजार ५०० वटा पीसीआर परीक्षण गरिसकेको जनाएको छ । अस्पतालका अनुसार उसले चितवन जिल्लाका १३ हजार ९१० जनाको पीसीआर विधिबाट परीक्षण गरिसकेको छ । बाँकी ४ हजार ५९० वटा पीसीआर परीक्षण भने विभिन्न १२ जिल्लाका शंकास्पद व्यक्तिहरूको गरिएको अस्पतालले दिएको सूचनामा उल्लेख छ । भरतपुर अस्पतालमा मात्रै हाल १८४ जना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये १३१ जना चितवनका वासिन्दा हुन् भने बाँकी संक्रमित अन्य जिल्लाका हुन् ।





