भरतपुर, ११ भदाै । स्वतन्त्र नागरिक समाज चितवनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा गर्न लागेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।
घिसिङ प्राधिकरणमा आएपछि लोडसेडिङ हटेको र प्राधिकरणमा पनि धेरै सुधार आएपछि उनीप्रति जनविश्वास छ । कुलमान घिसिङको कार्यकाल सकिनै लाग्दा उनको ठाउँमा अन्य व्यक्ति आउनसक्ने र विद्युत् प्राधिकरणको अवस्था पहिलेजस्तै हुनसक्ने भन्दै घिसिङलाई नै पुन: विद्युत् प्राधिकरणमा नियुक्ति गरियोस् भन्ने जनआवाज बढ्दै गइरहेको छ ।
समाजले घिसिङको पक्षमा सरकारलाई खबरदारी गर्दै उनको समर्थनमा बिहीबार बिहान ७ बजे स्व:स्फूर्तरुपमा नेपालको झण्डा र व्यानर बोकेर भरतपुरको चौबीसकोठीमा भेला गरेको थियो । मास्क लगाएर सामाजिक दूरी कायम राख्दै लामबद्द हुनै लाग्दा प्रहरी आएर निषेधाज्ञाको बेला कुनै पनि किसिमको कार्यक्रम नगर्न भन्दै ब्यानर खोसेर भिडलाई हटाएको छ ।
मुलुकमा लोडसेडिङ हटाएर देशलाई उज्यालो बनाउने कुलमानको समर्थनमा कार्यक्रम गर्दा प्रहरी हस्तक्षेप हुँदा दुख लागेको नागरिक अगुवा दीपेन्द्र बास्तोलाले बताए । “निषेधाज्ञाका कारण हामीले कार्यक्रम गर्न नपाए पनि प्राधिकरणमा कुलमानको निरन्तरताको माग गर्दछौँ”, उनले भने ।









