प्रधानमन्त्रीले बोल्यो की पोल्यो किन होला ?

तोयानाथ उपेक्षित

प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्नै नहुने भयो । उहाँले जे बोले पनि त्यसको नकारात्मक टिप्पणी गर्ने होडबाजी नै चल्छ । सकारात्मक सोचका साथ गरिएका कुरालाई समेत नकारात्मक अर्थमा जोडेर टिप्पणी गर्ने ठूलादेखि सानासम्म छन् तर किन ?

ट्वीटरमा सांसद गगन थापा लेख्छन्- “कोरोना संकमणको सन्दर्भमा आजको संसदमा नेपालका प्रधानमन्त्रीले राख्नु भएको धारणाले पुन: पुष्टि गरेकोछ प्रधानमन्त्रीलाई धेरै कुरा थाहा छैन तर आफूलाई थाहा छैन भन्ने उहाँलाई थाहा छैन । बरु म भन्दा जान्ने बुझ्ने कोही छैन भन्ने भ्रम र अहंकार छ । त्यो रबैयाले नेपालीले थप दुःख पाउने कुराले चिन्तित बनाएको छ” ।

यसरी नै साझा पार्टीका नेता रविन्द्र मिश्र लेख्छन् “कुतर्क गर्ने सर्वज्ञानी बरिष्ठ नेताको भाषण हेरेपछि ईमान्दार, क्षमतावान, विशिष्ट नेतृत्व संभावना बोकेका एक मित्रले भने हेर कस्ताकस्ता नेताबाट शासित हुन पर्‍यो । मैले भने तपाईजस्ता व्याक्ति छरिएर आआफ्नै काम गरेर बस्ने अनि खरावहरुले शासन गरे भनेर गुनासो गरेर बस्ने ?´´
प्रगतिशिल लेखक खगेन्द्र संग्रौला ट्वीटमा भन्छन्,- झुठो बोल्न मनाही छ ओली राजा बाहेक, कृपावाद बर्जित छ दिव्या सिंहलाई बाहेक, माटो खानेलाई देश निकाला गरिन्छ विष्णु पौडेललाई बाहेक, कमिशनभक्षीलाई काराबास चलान गरिन्छ भानुभक्त ढकाल लाई बाहेक, भ्रष्टचारीलाई शून्य सहिष्णुता श्रीरामका पाउपुजकलाई बाहेक” ।

माथि उल्लेख गरिएका ट्वीटहरुलाई विष्लेशण गरौँ । गगन थापाले प्रमलाई थाहा छैन भन्ने कुरा चाहीँ थाहा छैन भने । यो कुरा उनलाई चाहीँ कसरी थाहा भो ? प्रमलाई के थाहा छ के थाहा छैन भनेर पत्ता लगाउने उनको योग्यता र विज्ञताको आधार के हो ? उनले प्रमलाई अहंकारी भनिरहँदा सोही आरोप उनलाई लगाउन मिल्छ की मिल्दैन ?

दोश्रो ट्वीट हेरौँ । रविन्द्र मिश्रले घुमाएर फिराएर उही हेर्‍यो हेर्‍यो मेनु अन्तमा सिंगडाको गर्‍यो अडर भन्ने आशयले नै कुरा कतुरे । अब उनलाई समर्थन गरे देश स्वर्ग बन्छ नत्र अरु त सवै खराब नै हुन्, तिनलाई भोट दिएर के गुनासो गर्छौ भनेर भन्नु कुन हदको अहंकार र मपाईत्व हो ? वर्षौँ राजनीति गरेर ७७ जिल्ला र सवै गाउँपालीकामा कार्यकर्ता विछ्याएर आएको पार्टीको जनधार मिश्र जस्ता अन्तराष्ट्रिय मिडियाका जागिरेले रातारात भत्काउने सपना ट्वीटमा देख्नु अनौठो नहोला तर राजनीतिमा उनका कुरा अनौठा लाग्दछन् । प्रम ओलीलाई सामान्य आँक्नुको मतलब जनताको अपमान गर्नु पनि हो । उनीसँग राजनैतिक क्षमता र ज्ञान हुँदैनथ्यो भने कसरी देशभरी बहुमत त्यही पार्टीले ल्यायो ? जनतालाई खराब र मुर्ख ठान्ने उनको मुर्खताबाट देशमा उनको राजनीति त सफल हुँदैन नै बरु अराजकता र उश्रृंखलता बढाउन भने मद्दत नै गर्दछ ।

अर्का भुईँफूट्टा प्रगतिशील लेखक भन्न रुचाउने संग्रौलाका कुरा हेर्नुस् त । राम्रो भन्ने उनको जिनमा कतै भेटिन्न । कसको के खाएर बोल्छन् यी लेखक जहिले पनि अराजकता र अशान्तिका लागि उनको दिमाग चल्छ । सत्ताले नपत्याएपछि सत्ता विरोधी शक्तिको दर्शनलाई मार्गदर्शक सिद्धान्त ठान्ने खगेन्द्र संग्रौलाले एउटा पनि मुद्धामा सकारात्मक टिप्पणी गरेको पाईँदैन । के उनीसँग शासन गर्ने क्षमता छ ? जो सँग शासकिय क्षमता र ज्ञान हुँदैन उसले विरोधदेखि बाहेक केही बोल्न जान्दैन । उनले स्वतन्त्र विश्लेषक भएर लेखेका दिन नेपालमा लाग्छ महाप्रलय नै हुन्छ । अनि समाधान विनाको, सुझाव र सल्लाह विनाका नकारात्मक सोच र खोज गर्नेहरुका पछि कस्ता मानिस लाग्लान् । कसैले उनका लेख पढेर मजा लेलान्, कोही हाँस्लान्, कसैलाई आत्मारती होला । उनीजस्ता सुसारे लेखकको हैसियत अर्कालाई मजा दिलाउने काम भन्दा मुलुक र जनताका लागि अरु केही हुँदैन ।

प्रम केपी ओलीको कोरोनाका सन्दर्भका अभिव्यक्ति केबल मानिसहरुको मनोवल बढाउने सन्दर्भमा आएका कुरा छन् । मानिसको ईम्युन पावर बढाउने जैविक पदार्थ हुन सक्दैनन् कसैले भन्न सक्दैन । हतोत्साहित नहुन दिईने ढाढस पनि एक प्रकारको औषधी नै हो । भारतमा मोदीले योगाका कुरा गरिरहेका छन् । खोई त्यहाँ उनको खिल्ली मिडिया र नेताहरुले उडाएको पाईँदैन त ? आर्युवेदका ज्ञाताहरुले भनेकै कुरा हाम्रा प्रमले भन्दा त्यसलाई खिल्ली उडाउन लगाउने हाम्रा बौद्धिकहरु कस्तो दर्शन र ज्ञान पाएर आएका मानिस हुन् ? ओलीले गीता जप्नु भन्नु भएको छैन, भजन गर भनेको होईन, धामीझाँक्रीकोमा देखाउ पनि भनेको होईन, के भन्नु पर्ने थियो ? बाईबल पढ भनेको भए खुशी हुने थिएकी ? सरकारले आफ्नो संयन्त्र लगाएर जनताको जीवनरक्षाका लागि काम गरिरहेको छ ।

अस्पतालको क्षमता विस्तार र जनप्रतिनिधिको परिचालन अधिकतम गरिरहेको छ । सुरक्षाकर्मी र स्वास्थ्यकर्मी खटाईरहेको छ । औसधि र उपकरण थप गरिरहेको छ । हिजो एउटा स्याम्पल देखाउन हङकङ लैजान पर्ने अवस्थाबाट आज जुन अवस्थामा नेपालको जनस्वास्थ्य आईपुगेको छ यो चानचुने कुरा होइन । भारतका ठूला सवै शहरहरुको स्वास्थ्य अवस्था कोल्याप्स भईसकेको छ । त्यहाँ कोरोना जाँचको मूल्य तोकेर जनताबाट असुली भईरहेको छ । सस्तोमा जाँच गर्ने भनिएको राज्य उत्तर प्रदेशमा पनि २ हजार भारु तिर्नुपर्दछ । त्यत्रो ठूलो अर्थतन्त्रसँग दाँजेर हेरौँ त नेपालले नगरेको भन्न मिल्छ ? विरोधका लागि विरोध गर्ने र हतोत्साहित गर्ने काम कसैले पनि यस्तो संकटमा नगरे राम्रो ।

फाल्तुका ट्वीट लेख्ने दरिद्र बौद्धिकहरुले देश बनाउँदैन, विगार्ने मात्र काम गर्दछन् । बाहिरको लगानीमा चलेका मिडियाहरु पनि उसरी नै सरकारका हरेक कामको कमजोरी खोजीखोजी पछि परेर मिसन सहित समाचार लेखिरहेका छन् । यो देशको चिन्ता भन्दा दाता र मालिक रिझाउने संस्कार देशमा हावी भएको छ । सुधार यहिँबाट शुरु गरौँ । सरकारले झन् राम्रो काम गर्नसक्छ ।

(लेखक उपेक्षित मध्यपूर्वको कुवेतमा कार्यरत छन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट