भरतपुर, ८ वैशाख
चितवन जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले आज जिल्लाकाे बस्तुअवस्थाका बिषयमा स्थानीय प्रशासनसँग छलफल गरेको छ ।

जिल्ला प्रशासन कार्यलय भरतपुरमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले काेभिड १९ राेकथामका सन्दर्भमा हाल जिल्लामा सरकारका तर्फबाट भए गरेका कार्यहरुबारे प्रकाश पारेका थिए । साे क्रममा प्रजिअ भट्टराईले राेग फैलन नदिन उच्च सावधानी अपनाईएकाे, सीमामा निगरानी, चेकजाँच कडाइ गरिएकाे, सडकमा अलपत्र परेकालाई सहयोग पुर्याइएकाे, आवश्यक्ता अनुसार स्वास्थ्य परीक्षण जारी राखिएको, स्थानीय तहमार्फत राहत वितरण गरिएको जानकारी दिए ।
अहिलेसम्म ३ सय ५० जनाकाे आरडीटी र ३ सय माथिकै संख्यामा पीसीआर परीक्षण भएको उनले जानकारी दिए । थप किटकाे केन्द्रमा माग गरिएको र छिट्टै आइपुग्ने जनाउँदै परीक्षण तिव्ररुपमा अघि बढ्ने प्रजिअ भट्टराईले बताए । छलफलमा समितिका अध्यक्ष कमलराज पाठक, सदस्यहरु तीर्थ नेपाल, सुरेश अधिकारी सहभागी थिए ।
समितिका तर्फवाट अध्यक्ष पाठकले राष्ट्रिय मानवअधिकार आयाेगबाट प्राप्त अनुगमन कार्यविधिबारे जानकारी गराएका थिए । काेभिड-१९ का सन्दर्भमा गठित यस समितिले नियमित रुपमा सरकारका कामकारबाही, सर्वसाधारणकाे अवस्था, मानवअधिकारकाे अवस्थालगायतका बिषयमा सम्बन्धित पक्षहरुसँग छलफल र अनुगमन गरिराख्ने अध्यक्ष पाठकले जानकारी दिए ।





