चित्र बनाएर बिताउँदै लकडाउन

भरतपुर, २९ चैत

कोठाका भित्तामा उज्यालो रंग लगाइएको छ । सूर्यको प्रकाशले कोठालाई अझैं उज्यालो बनाएको छ । कोठाभित्र रहेका हरेक सामग्रीहरू राम्रोसँग मिलाइएको छ । केही पनि छरपस्ट छैन । कोठामा एउटा टेबुल छ । टेबुलमा विश्वको सुन्दर नक्सा कोरिएको छ । ती उज्याला भित्तामा पनि मनै लोभ्याउने चित्र कोरिएको छ ।


बाहिर वसन्त ऋतुको आगमनले रुखका हाँगाले पालुवा फैर्दैछन् । कोठाभित्रको एउटा भित्तामा तिनै पालुवालाई दुरुस्तै उतारिएको छ । लकडाउन सुरु भएपछि भरतपुर महानगरपालिका ४ निवासी आकृति सापकोटाले चित्र कोरेरै दिन कटाइरहेकी छिन् ।

“लकडाउन भएकाले बाहिर निस्कने कुरै भएन । कहिले कोठा सफा गर्दै त कहिले नयाँ नयाँ खानेकुरा बनाउँदै दिन बिताइरहेकी छु”, आकृतिले सुनाइन् । अरुबेलामा भन्दा हालको समयमा बढी फुर्सद मिलेकाले बाँकी भएको समयलाई भने उनले चित्र बनाएर सदुपयोग गर्ने गरेको बताइन् ।

आकृति हाल चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा दन्तचिकित्सा विषयमा स्नातक तहमा अध्ययन गरिरहेकी छिन् । विज्ञान संकायमा कक्षा ११/१२ पढ्दै गर्दा चित्र बनाउने इच्छा पलाएको उनको भनाइ छ ।

“बाइलोजी पढ्दा जीवजन्तु, बोटबिरुवा तथा विभिन्न अंगहरूको चित्र बनाउनुपर्ने हुन्थ्यो”, उनी अगाडी सुनाउँछिन्, “त्यति बेलादेखि आफूले राम्रो चित्र बनाउन सक्ने रहेछु भन्ने लाग्न थालेको हो ।” पछि राम्रो चित्र बनाउने गरेको थाहा पाएपछि उनका साथीहरूले पनि बाइलोजी विषयका चित्र बनाउने जिम्मा उनैलाई सुम्पिन थाले ।

“त्यो बेला साथीहरूले चित्र बनाउन पर्‍यो कि मलाई नै सम्झने गर्दथे । मलाई पनि रमाइलो लाग्थ्यो”, उनले हाँस्दै भनिन्, “पछि दिदीका विभिन्न प्रोजेक्ज वर्कका चित्र पनि मैले नै बनाउँथेँ ।”

चित्रकला रुची भएपनि चित्रकलाका कोर्स भने हालसम्म नलिएको उनी बताउँछिन् । “खास गरी प्रकृतिसँग सम्बन्धित कुराहरू कोर्न मन लाग्छ, कहिलेकाँही मान्छेको स्केच पनि बनाउँछु । तर अहिलेसम्म आर्ट क्लास लिने बारेमा भने सोचेकी छैन”, उनले सुनाइन् । चित्र कोर्दा मनलाई आनन्द मिल्ने गरेको उनी सुनाउँछिन् । “चित्रले एक प्रकारको शान्ति दिन्छ जस्तो लाग्छ । आँखाले देखेको कुरालाई फरक शैलीमा रंगको प्रयोग गरेर ढाल्न सकिन्छ”, उनले भनिन् ।




bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट