लकडाउन उल्लंघन गर्ने दक्षिण अफ्रिकन सञ्चारमन्त्री कारबाहीमा

जोहानेसबर्ग/दक्षिण अफ्रिकन राष्ट्रपति सिरिल रामाफोसाले सञ्चारमन्त्रीले देशव्यापी लकडाउनको नियम उल्लंघन गरेको भन्दै दुई महिनाको ‘विशेष विदा’ दिँदै एक महिनाको तलब कटौती गरिदिएका छन् ।

बुधबार सञ्चारमन्त्रीले लकडाउन उल्लंघन गर्दै एक पूर्वअधिकारीसँग खाजा खाएपछि उनलाई यस्तो कारवाही गरिएको हो । सञ्चारमन्त्री स्टेला न्दाबेनी अब्राहम्सले ती पूर्वअधिकारीसँग खाजा खाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि राष्ट्रपतिले कारवाही गरेका हुन् ।

दक्षिण अफ्रिकामा कोरोना भाइरस महामारी नियन्त्रण गर्न मार्च २७ देखि २१ दिनको लकडाउन घोषणा भएको छ । मानिसहरुलाई खाना, पानी, औषधि किन्ने जस्ता अत्यावस्यक वाहेकका काममा घर बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

लकडाउन उल्लंघन गरेको भन्दै केही दिनमै दक्षिण अफ्रिकामा १७ हजार भन्दा धेरै मानिस पक्राउ परेका छन् । ‘मन्त्रीसहित कोही पनि कानुन भन्दा माथि हुने कुरामा राष्ट्रपतिको विश्वास छैन,’ राष्ट्रपतिका प्रवक्ता खुसेला दिकोले बताइन् ।

‘उनी भन्छन्, हामीमध्ये कसैले पनि आफ्नो जीवन बचाउन राष्ट्रिय प्रयासलाई कमजोर बनाउनु हुँदैन,’ प्रवक्ता खुसेलाले बताइन् । सञ्चारमन्त्री न्दबेनी अब्राहम्सले भने एक भिडिओमार्फत माफी मागेकी छन् । ‘मैले लकडाउन उललंघन गरेकोमा समाजसँग माफी माग्न चाहन्छु, म आत्मालोचना गर्छु र माफी माग्छु,’ सञ्चारमन्त्रीले भनेकी छन् ।

तर प्रमुख प्रतिपक्षी दल ‘डेमोक्रेटिक अलायन्स’ले भने राष्ट्रपतिसमक्ष सञ्चारमन्त्रीलाई पदबाट हटाउन माग गरेको छ । साथै उनीविरुद्ध मुद्दा दायर गर्न आग्रह गरेको छ । लकडाउन उल्लंघन गर्ने सञ्चारमन्त्री पहिलो मन्त्री भने हैनन् । न्युजिल्याण्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्क लकडाउन उल्लंघन गर्दै आफ्नो परिवारका साथ समुद्री किनारमा पुगेका थिए । दक्षिण अफ्रिकामा कोरोना भाइरसका संक्रमितको संख्या १ हजार ८ सय ४५ पुगेको छ । साथै १८ जनाको मृत्यु भएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट