खारहनी, २४ चैत
साना किसान कृषि सहकारी संस्था खैरहनीले खैरहनी नगरपालिकामा स्थापित कोरोना भाईरस रोग नियन्त्रण तथा राहत कोषलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन र यसपछि उत्पन्न समस्या समाधानका लागि नगरपालिकाले कोष स्थापना गरेको थियो ।

एकद्धार प्रणाली अवलम्वन गरेपछि कोषमा सहयोग आउने क्रम जारी रहेका बेला साना किसानको तर्फबाट सोमवार ५० हजार रुपैयाँ सहयोग भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले बताए । साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष राधिकाकुमारी क्षेत्रीले नगर प्रमुख लालमणी चौधरीलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी थिईन् । चेक ग्रहण गर्दै नगर प्रमुख चौधरीले नगरसँग सहकार्य गरेर सहयोग गरेकोमा धन्यवाद दिदै विपन्न वर्गका लागि राहत र संभावित रोग न्यूनिकरणमा खर्च गरिने बताए ।
चेक हस्तान्तरणका लागि संस्थाकी अध्यक्ष क्षेत्रीको नेतृत्वमा उपाध्यक्ष शान्तिकुमारी चौधरी, संचालक देवी कुमारी थापा र व्यवस्थापक चन्द्रबहादुर लामिछाने नगरपालिका पुगेका थिए । लकडाउनका कारण ज्यालामजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई खैरहनी नगरपालिकाले राहत वितरण गरिसकेको छ । छुटेको भनेर गुनासो गरेकाहरुलाई समेत मापदण्ड अनुसार राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।





