भरतपुर, २४ चैत
भरतपुरमा पहिलो पटक गरिएको कोरोना भाइरस(कोभिड १९) परीक्षणको रिपोर्ट आएको छ ।

भरतपुरस्थित पंक्षीरोग अन्वेषण प्रयोगशालामा सञ्चालनमा ल्याइएको ल्याबमा गरिएको परीक्षणका क्रममा २१ वटै स्वाबको रिपोर्ट नेगेटिभ आएको हो । भरतपुर कोरोना विशेष अस्पतालबाट पठाइएको १६ वटा र रत्ननगरको गुञ्जमान सिंह हस्पिटलबाट लगिएको एउटा स्वाबको हिजो परीक्षण गरिएको थियो । बाँकी ४ वटा व्यक्तिको घरमै पुगेर लिइएको थियो ।
रत्ननगरको तरकारी मण्डी आउजाउ गर्ने खान थर भएका व्यक्तिलाई कोरोना संक्रमण भएको भन्ने प्रचार व्यापक बनाएपनि उनी र उनको परिवारकै रिपोर्ट नेगेटिभ आएको छ ।
यस प्रयोगशालाले एक पटकमा ९० वटा सम्म नमूना जाँच गर्न सक्छ ।
७० शैयाको कोरोना विशेष अस्पताल र केन्द्रिय स्तरको भरतपुर अस्पताल, क्यान्सर अस्पताल, दुईवटा मेडिकल कलेज तथा दर्जनौं अस्पतालहरु रहेको चितवनमा आजबाट ल्याब सञ्चालनमा आएको थियो ।
यसैअघि चितवनबाट हेटौँडा पठाइएको १० जनाको नमुना परिक्षण रिपोर्ट नेगेटिभ आएको छ । सोमवार सकिएको परिक्षणको नतिजा नेगेटिभ आएको बागमती प्रदेश सामाजिक बिकाश मन्त्रालयका प्रवक्ता दिपेन्द्र सु्वेदीले जानकारी दिए ।





