काठमाडौं, २४ चैत
बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । १० दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी लण्डन अस्पतालमा भर्ना भएका हुन् ।
आइतबार साँझ उनमा ज्वरो आउनेलगायतका कोभिड १९ का लक्षण देखिएपछि डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीले जनाएको छ । डाक्टरहरुले उनमा सतर्क हुनुपर्ने अवस्था देखिएको बताएका छन् । उनको अनुपस्थितिमा बेलायतका परराष्ट्रमन्त्रीले कोरोना भाइरससम्बन्धी बैठकको अध्यक्षता गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोनसोनको स्वास्थ्य समस्याप्रति चिन्ता जाहेर गरेका छन् । उनले आफ्नो पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्ध आफैं लडिरहेका जोनसोनप्रति स्वास्थ्य लाभको कामना गरेका छन् । ‘सबै अमेरिकीहरुले उहाँको लागि प्रार्थना गरिरहेका छन् । उनी मेरा असल मित्र हुन् । उनी ठूला जेन्टलम्यान र ठूला नेता हुन्’ ट्रम्पले भनेका छन् ‘म ढुक्क छु कि उनी ठीक हुन्छन्, किनकी उनी बलिया मान्छे हुन् ।’
लेबर पार्टीका नेताले पनि प्रधानमन्त्री जोनसोनको सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।





