एक अध्ययनले क्षयरोगको खोप अनिवार्य गरिएका मुलुकमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउने मानिसको संख्या पनि तुलनात्मक रुपमा कम रहेको एक अध्ययनले देखाएको छ । प्रकाशित नभएका मेडिकल रिसर्चको साइट मेडआरएक्सआईभीका अनुसार क्षयरोगका लागि बीसीजी खोप दिइने मुलुकमा कोभिड–१९ का संक्रमित र मृतकको संख्या पनि कम देखिएको हो ।
द साउथ चाइना मर्निङ पोष्टका अनुसार, अहिले यो परीक्षण केवल छ मुलुकमा मात्र गरिएको छ । तर, ६ मुलुकमा गरिएको यो अनुसन्धानले पनि महत्वपूर्ण नतिजा भने दिएको छ । यी मुलुकमा बीसीजी खोप दिएका स्वास्थ्यकर्मी र वृद्ध मानिसमा पनि कोभिड–१९ विरुद्धको प्रतिरक्षा प्रणाली एकै किसिमको पाइएको थियो ।

न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक गोन्जालो ओटाजुले जापानमा मृतकको संख्या कम देखिएसँगै यस विषयमा आफ्नो शोध सुरु गरेका थिए । चीनपछि सबैभन्दा पहिला जापानमा यो भाइरसको संक्रमण देखिएको थियो । साथै जापानले अन्य मुलुकले जस्तो लकडाउनलगायतका निर्णय पनि गरेको छैन । जापानमा वृद्ध मानिसहरुको संख्या पनि उल्लेख्य छ । कोभिड–१९ को असर धेरै वृद्धि मानिसमा हुने गरेको विभिन्न अध्ययनले पनि देखाएका छन् ।
ओटाजु आफूलाई यसअघि नै बीसीजी खोपले केवल क्षयरोगको ब्याक्टेरिया मात्र नभई अन्य संक्रामक रोगका जीवाणुलाई पनि रोक्ने क्षमता बढाउने आफूलाई थाहा भएको बताउँछन् । यससँगै उनको टोलीले अनिवार्य क्षयरोगको खोप भएका र केही स्थानमा मात्र यो खोप लगाइने मुलुकको तथ्यांक संकलन गरेको थियो । यसरी संकलन गरिएको तथ्यांक उनीहरुले गरेको शोधमा निकै मेल खायो ।
अमेरिका र इटालीजस्ता उच्च आम्दानी भएका मुलुकहरुमा अहिले धेरै कोभिड–१९ का बिरामी देखिएका छन् । यी मुलुकमा बीसीजीको खोप जोखिममा रहेका मानिसलाई मात्र अनिवार्य गरिएको छ । जबकि, जर्मनी, स्पेन, फ्रान्स, इरान र बेलायतमा बीसीजी खोप अनिवार्य गर्ने नीति थियो । तर, यो चार दशकभन्दा पहिला नै रोकिएको थियो । यो भाइरसको शुरुवात भएको चीनमा पनि बीसीजी खोपको व्यवस्था छ । तर, यो व्यवस्था सन् १९७६ भन्दा अघि राम्रो थिएन ।
दक्षिण कोरिया र जापानजस्ता बीसीजी खोप अनिवार्य भएका मुलुक अहिले कोभिड–१९ नियन्त्रणमा सफल देखिएका छन् । कम आम्दानी भएका मुलुकको तथ्यांक भने यस किसिमको अनुसन्धानको लागि त्यति विश्वसनीय मानिँदैन ।
अहिले यो भाइरसका कारण संक्रमितको संख्या १० लाख नाघिसकेको छ भने अहिलेसम्म यसबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघिसकेको छ ।
यस्तोमा विश्वभरका मुलुकहरु यो भाइरसबाट पार पाउन संघर्ष गरिरहेका छन् । कुनै पनि रोगको खोप एक वर्षभन्दा अगाडि उपलब्ध हुनु निकै कठिन हुन्छ । यसको लागि आवश्यक प्रक्रिया र मापदण्डको कारण यो समय निकै कम हुन जान्छ ।
यो कारणले पनि बीसीजी खोपले कोभिड–१९ रोक्न सक्छ कि भनेर हेर्नु तर्क संगत हुने युनिभर्सिटी अफ टोरोन्टोका इलोनोर फिस बताउँछन् । ओटोजुको अनुसन्धानलाई पुनरावलोकनको काम भइरहेको छ । फिसले आफूले यो नतिजा निकै ध्यान दिएर हेरेको बताए ।
ओटाजुले यसअघि नै विशेषज्ञबाट यो अध्ययनबाट विभिन्न प्रतिक्रिया पाएका छन् । उनीहरुको आशंका समाधानको लागि उनी अहिले उक्त अध्ययनको दोस्रो भागमा अनुसन्धान गरिरहेका छन् ।
कोभिड–१९ मा बीसीजी खोपको प्रभावकारिताको विषयमा सबैभन्दा पहिला मिहाइ नेटीको टोलीले गरेको थियो । उनी राडबाउड यूनिभर्सिटी मेडिकल सेन्टरका संक्रामक रोग विशेषज्ञ हुन् । उनको टोलीले चार सय स्वास्थ्य कर्मचारीलाई अनुसन्धानमा समावेश गरेको थियो । जसमा दुई सयलाई बीसीजी खोप दिइएको थियो । उनलाई दुई महिनासम्म कुनै नतिजा नआउने अपेक्षा थियो । उनी ६० वर्षभन्दा माथिका मानिसमा बीसीजी खोपको प्रभावको विषयमा पनि अनुसन्धान गर्ने तयारीमा छन् । अन्य केही परीक्षण अष्ट्रेलिया, डेनमार्क, जर्मनी, बेलायत र अमेरिकामा गरिएको थियो ।
अहिले वैज्ञानिकहरु कोरोना भाइरसको विरुद्धमा क्षयरोगको खोप मात्र किन प्रभावकारी देखियो भन्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।
नेटीले बीसीजी खोपले एकै किसिमले आक्रमण गर्ने अन्य रोगबाट पनि बचाउन सक्छ भन्नेबारे लामो समयसम्म अनुसन्धान गरेका छन् । यस्ता रोगबाट बच्न यो खोप लिएका मानिससँग अन्य मानिसको तुलनामा धेरै प्रतिरोधात्मक क्षमता हुन्छ ।
बीसीजी खोप कोभिड–१९ को लागि केही प्रभावकारी देखिएपछि यो खोप लिइहाल्नुपर्छ भन्नेचाहिँ होइन । ओटाजु यो खोप ट्वाइलेट पेपरजस्तो बिक्री गर्नुपर्ने खोप नरहेको बताउँछन् । वैज्ञानिकहरुले मेडिकल परीक्षणविना यो खोप कत्तिको प्रभावकारी हुन्छ भनेर भन्न सक्दैनन् । उनीहरुको नतिजाले यो खोप कति प्रभावकारी छ भन्ने कुरा देखाउँनेछ । कुनै पनि संक्रमितको उपचारका लागि यो खोपमात्र उपचार हुन सक्दैन ।
ओटाजु भन्छन्, ‘बीसीजी खोपको कारण मात्र कोभिड–१९ लाई नियन्त्रण गर्न सक्ने कुनै मुलुक छैनन् ।’ कोरोना भाइरस नियन्त्रणको लागि सामाजिक दूरी बढाउने, परीक्षण बढाउने र संक्रमितहरुलाई आइसोलेशनमा राख्नु जरुरी हुन्छ ।
(अनलाइनखबर डटकमबाट साभार)





