भरतपुर, २१ चैत
स्वास्थ्य मन्त्रालयले पाेखरामा कुनै पनि व्यक्तिमा काेराेना पाेजिटिभ नदेखिएकाे प्रष्ट पारेकाे छ ।
नियमित पत्रकार सम्मेलनकाे क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाेखरामा पहिलाे परीक्षणबाट आएकाे रिपोर्टलाई केन्द्रीय प्रयाेगशालाले परीक्षण गरेकाे जानकारी दिए ।
“म भ्रम क्लीयर गर्न चाहन्छुु”,उनले भने, “प्रदेशमा मेसिनहरू गएकाे छ, तिनकाे भ्यालिडेसन हेर्नुपर्ने हुन्छ । याे केही समयकाे लागि आवश्यक छ ।” त्यसैले पाेखरामा गरिएकाे परीक्षणकाे विश्वसनीयता हेर्न काठमाडौं नमूना पठाइएकाे उनले बताए ।
केही परीक्षण रिचेक गरेपछि विश्वसनीयताकाे आधारमा थप परीक्षण भने त्यहीँ गरिने उनले बताए ।
यसअघि आज पाेखरामा भारतबाट फर्किएका व्यक्तिमा काेराेना पाेजिटिभ देखिएकाे बताइएको थियाे ।
काठमाडौंमा गरिएकाे पुनःपरीक्षणमा नेगेटिभ आएकाे पुष्टि मन्त्रालयका प्रवक्ता डा.देवकोटाकाे भनाइबाट हुन्छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले जानकारी दिएकाे अनलाइन खबरले जनाएकाे छ ।
पाेखरामा भरखरै मेसिन जाेडिएकाेले अहिले त्यहाँकाे रिपोर्टलाई काठमाडौंले रिचेक गरिरहेकाे छ ।





