भरतपुर, २१ चैत
भरतपुर-२५ शुक्रनगरमा व्यवसायिक तरकारी खेती गर्दैआएका समिर भुषालले भरतपुरका असहाय तथा वृद्धवृद्धाहरुलाई तरकारी सहयोग गरेका छन् । कायाकैरन डटकममा हिजो भुषालको तरकारी खेती र उनले विपद्को समयमा सर्वसाधारणलाई नि:शुल्क फर्सी बाँडेको समाचार‘राम्रो मूल्य नपाएपछि नि:शुल्क फर्सी बाँड्दै समिर’ शीर्षकमा प्रकाशन भएको थियो ।

उक्त समाचार पढेपछि असहाय, अशक्त तथा बालबालिकाहरुको सेवा गर्दैआएका चितवनका विभिन्न संस्थाहरुले चासो राखेका थिए । हिजै कायाकैरनको समन्वयमा समाजसेवी केशव अधिकारीको नेतृत्वमा फार्ममै पुगेको टोलीले तरकारी ल्याएर विभिन्न संस्थाहरुलाई वितरण गरेको थियो ।

अधिकारीले कायाकैरन डटकममा प्रकाशित समाचार पढेपछि समिर भुषालसँग सम्पर्कगरी विभिन्न आश्रमहरुलाई वितरण गरिएको बताए । उनका अनुसार बन्दा, फर्सीलगायतका तरकारी चितवन मानव सेवा आश्रम, भरतपुर-९, मानव सेवा आश्रम भरतपुर-१०, कुसुम साहारा बालिका आश्रम भरतपुर-११, मञ्जुश्री अशाहाय सेवा केन्द्र भरतपुर-११ लाई सहयोग गरिएको थियो । साथै डेरा गरी बस्ने ५ वटा परिवारलाई पनि सहयोग गरिएको उनले बताए ।

भुषालले शुक्रनगरमा ५ विघामा तरकारी लगाएका छन् । १ विघामा फर्सी लगाएका थिए । अहिले फर्सीको बजार मूल्य प्रतिकेजी १० देखि १२ रुपैयाँसम्म पर्छ ।

भुषालले मानव सेवाको काम गर्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गरे । उनले देशलाई संकट परेको अवस्था भएका कारण सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए ।


कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले सरकारले लकडाउन घोषणा गरेपछि खाद्यबस्तुको अभाव हुँदै आएको छ ।





