भरतपुर, चैत २०
भरतपुर महानगरपालिका वडा नं ४ लंकू, त्रिचोक निवासी प्रेम प्रसाद कंडेलले लकडाउनका कारण अभाव झेलिरहेका श्रमिकहरूलाई राहतस्वरूप खाद्यान्य सहयोग गरेका छन् ।

त्रिचोक टोल विकास संस्थाका अध्यक्ष समेत रहेका उनले त्रिचोक क्षेत्रमा ज्यालामजदुरी गर्दै आएका ३४ परिवारलाई व्यक्तिगत रूपले खाद्यान्न सहयोग गरेका हुन् । लकडाउनका कारण भवन निर्माण लगायतका काम रोकिएपछि उनीहरूको आयश्रोतको बाटो ठप्प भएको थियो ।
आफ्नो टोलमा रहेका मजदुरहरूको संख्या तयार पारी वडालाई पनि बुझाएको र आफैंबाट पनि केही सहयोग होओस् भनी बुबा रामचन्द्र कंडेलको पुण्यतिथि पारेर राहत वितरण गरेको उनले जानकारी दिए । कंडेलले प्रति परिवारलाई पाँच केजी चामल, दुई केजी दाल, एक केजी नुन र आधा लिटर तेलका दरले राहत वितरण गरेका हुन् । “वडाले पनि राहत बाँड्ने भनेको छ । सोही क्रममा नाम संकलन गरेको थिएँ”, उनले भने, “वडाबाट राहत आइपुग्न धेरै समय लाग्ने होला भन्ने सोची आफैं राहत वितरण गरेँ ।”





