भरतपुर, १६ चैत
रोटरी क्लब अफ रत्ननगरले भरतपुर अस्पताललाई पीपीईलगायतका सामग्रीहरु सहयोग गरेको छ । कोरोना भाईरस (कोभिड १९)का बिरामीको उपचारमा चिकित्सकलाई सहज होस भनेर क्लबले ५० थान पीपीई र १ सय ५० थान पञ्जा उपलब्ध गराइएको हो ।
क्लबका अध्यक्ष बिपिन पोखरेलले आज अस्पतालमा आयोजित कार्यक्रममा भरतपुर अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ती सामग्री हस्तान्तरण गरे । सामाग्री ग्रहण गर्दै तिवारीले चिकित्सक, स्वास्थ्यकर्मीको स्वास्थ्यमा ध्यान दिएर गरिएको सहयोग प्रति खुसी व्यक्त गरे ।

आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा गर्दै यसले चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई काममा सहयोग पुग्ने बताए । भरतपुर अस्पतालमा चिकित्सक स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्दा प्रयोग गर्ने सुरक्षित पोशाकहरु नहुदाँ सास्या परिरहेका बेला रोटरीले सहयोग गरेको हो ।
अध्यक्ष पोखरेलले बिरामीको उपचारमा तल्लिन चिकित्सकहरु समेत संक्रमणको जोखिममा पर्न सक्ने भन्दै सामान्य सामग्री हस्तान्तरण गरिएको बताए । आगामी दिनहरुमा पनि सहयोग गर्ने उनको भनाई थियो । क्लबले रु २ लाख ५० हजार बराबरको सामग्री काठमाडौंमा खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको हो । अस्पतालमा हाल यस्ता अत्यावश्यक सामग्रीहरुको अभाव रहेको छ ।
क्लबले यस अघि गाउँघरमा सेनिटाईजर बितरण, भरतपुर अस्पतालमानै बच्चाको सघन उपचार कक्षमा सहयोग हुने गरेर सामग्री, रोटरी पुस्तकालय, शहीद स्मृति पुस्तकालय, लटौली खाजा तथा लघुबित्त कार्यक्रमको संञ्चालन, रोटरी सार्वजनीक शौचालय निर्माण, बृहत रक्तदान कार्यक्रम जस्ता सामाजिक काम गर्दै आएको छ । क्लबले सौराहामा पर्यटकको आगमनलाई लक्षित गर्दै रोटरी घण्टाघरको निर्माणको कामलाई तिब्र बनाएको क्लबका निवर्तमान अध्यक्ष जनक पौडेलले जानकारी दिए ।





