भरतपुर, १६ चैत
विश्वभर नै नोबल कोरोना भाईरस माहामारीको रूपमा फैलिरहेको अवस्थामा धर्मसम्बन्धी गलत तथा भ्रामक प्रचार गरी अफवाह फैलाउने एक जना महिलालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्लाको माडी न.पा.वडा नं.७ जगन्नाथपुरी बस्ने ३८ वर्षीया जानकी ढुंगाना रहेकी छिन् । ढुंगानाले गाउँका मानिसहरूलाई यशुलाई विश्वास गरेमा तपाईहरूलाई केही हुँदैन भन्दै भ्रम फैलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
धर्म परिवर्तन गरेमा कोरोना नसर्ने भन्दै स्थानीय मानिसहरूमा अफवाह फैलाएको भन्ने स्थानीयहरूको उजुरीको आधारमा ढुङगानालाई चैत १४ गतेका दिन पक्राउ गरिएको हो ।
पक्राउ परेका निज उपर आज मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको पनि प्रहरी कार्यालयले जनाएको छ ।





