तरकारी र खाद्यान्न किन्न अव्यवस्थित भीड

लेखराम सापकोटा
भरतपुर, १६ चैत

सरकारले ‘लकडाउन’को अवधिमा उपभोक्तालाई अत्यावश्यक दैनिक उपभोग्य वस्तु किनमेल गर्न छुट दिएको छ । तरकारी बजार तथा खाद्यान्न पसलहरूमा विशेषगरी बिहान र बेलुकि उपभोक्ताको बाक्लो भीड हुने गरेको छ । सरकारले गत मंगलबारबाट हिँडडुल गर्न नपाउने गरी घरमै बस्न अनुरोध गर्दै लकडाउन आह्वान गरेको हो ।

रोगको महामारी समुदायमा नफैलियोस् भनेर गरिएको लकडाउनका कारण सर्वसाधारणलाई अप्ठ्यारो नपरोस् भनेर अत्यावश्यक वस्तु किन्न छुट दिइएको हो । तर, त्यसो गर्दा सकेसम्म भीड कम गर्नुपर्छ । भीड गर्ने हो भने त त्यसले फेरि जोखिम बढाइहाल्छ । तर, क्षेत्रपुरस्थित तरकारी बजारमा भने अनावश्यक भीड हुने गरेको पाइएको छ ।

नारायणगढको एक पान पसलमा साँझपख उपस्थित सर्वसाधारण

तरकारी बजारमा एकैपटक धेरै उपभोक्ता पुग्दा भीड नियन्त्रण गर्न गाह्रो छ । ती क्षेत्रमा सुरक्षाकर्मीले पनि भीड नियन्त्रणका लागि चासो दिएको देखिन्न । “सरकारले हाम्रै सुरक्षाको लागि लकडाउन गरेकोले आफैंले सतर्कता अपनाउनुपर्ने हो”, क्षेत्रपुरका अर्जुन बगालेले भने, “तर आमनागरिकले यसलाई बेवास्ता गरेकोले स्थानीय र टोल विकास संस्थाले यसलाई गम्भीरतापूर्वक नलिए हामीले ठूलै जोखिम मोल्नुपर्ने दिन नआउला भन्न सकिन्न ।”

सुरक्षाकर्मीले दुःख दियो
एकातिर उपभोक्ताले लकडाउनको संवेदनशीलता नबुझ्दा समस्या भएको छ भने अर्कोतिर बजार क्षेत्रमा किनमेल गर्न आएका उपभोक्ताले प्रहरी र सुरक्षाकर्मीबाट दुःख पाएको गुनासो गरेका छन् । मोटरसाइकल र चारपाङ्ग्रे सवारीमा आउनेहरूलाई चेकिङका क्रममा सामान्य सोधपुछपछि छोडिएको तर पैदल आउने निम्न वर्गका उपभोक्तालाई लाठी देखाएको गुनासो गरेका छन् । उनीहरुले हिँड्नेलाई लखेट्ने तथा कान समातेर उठबस गराउने नसियत दिइएको बताएका छन् ।

नारायणगढमा दैनिक उपभोग्य वस्तु बेच्ने केही व्यवसायीले पसल खोलेर बसे पनि ग्राहकको चहलपहल छैन । लायन्सचोकमा किराना तथा खाद्यान्न पसल चलाइरहेका रमेश ढकालले लकडाउन अवधिभर पनि सेवा दिइरहेका छन् । तर, बन्दले गर्दा उल्लेख्य मान्छे सडकमा आएका छैनन् । पसल खोलेर सेवा दिइरहे पनि अत्यावश्यक चिजभन्दा पनि चुरोट, सुर्ती तथा भोला खोज्न आउनेहरु धेरै भएको उनले बताए । पुतलीबजार तथा कमलनगर क्षेत्रमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलमा पनि खासै चहलपहल छैन ।

आपूर्तिमा अप्ठ्यारो
लकडाउनको बेला कुनै पनि हालतमा खाद्यान्न आपूर्ति नरोक्नू भन्ने सरकारको निर्देशन छ । तर, आपूर्तिकर्ताको आफ्नै पीडा छ । सुरक्षाकर्मीकै कारण खाद्यान्न बजार लैजानै समस्या भएको उनीहरुको भनाइ छ । “सरकारले खाद्यान्नलगायत अत्यावश्यक वस्तुको बिक्री वितरण नरोक भन्छ”, आपूर्तिकर्ता नेत्र आचार्यले भने, “तर चामल पठाउनका लागि मेरो ड्राइभरले रामनगरबाट गाडी लिएर नारायणगढसम्म पनि आउन सकेन ।”

उनले सरकारी निकायहरुमै समन्वय नहुँदा आफूहरुले समस्या भोग्नुपरेको बताए । “एक दुई हप्ता खाद्यान्न आपूर्ति नगर्दैमा समस्या त आउन्न”, उनले भने, “तर, प्रशासनले अत्यावश्यक वस्तुको आपूर्तिमा सजगता अपनाउन सकेन भने त्यसपछि ठूलो समस्या आउनेछ ।” सरकारले लकडाउन गर्नसक्ने पूर्व संकेत पाउने बित्तिकै अधिकांशले केही सामग्री जोहो गरिसकेकोले एक–दुई हप्ता कसैलाई केही नहुने तर स्थिति भयावह भै लकडाउन लम्बिएमा थप संकट आउन सक्ने आँकलन बजारमा गरिएको छ । आचार्यले नागरिकलाई अप्ठ्यारो हुन नदिन अहिल्यैदेखि दैनिक उपभोग्य सामग्री व्यवस्थापनमा प्रशासन लाग्नुपर्ने सुझाव दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट