भरतपुर, १६ चैत
सरकारले घोषणा गरेको एक हप्ताको लकडाउनके समय सकिनै लाग्दा चितवनमा प्रहरी झनै कडा रुपमा प्रस्तुत भएको छ । विहानदेखि वेलुका सम्म प्रहरी सडकमै बसेर बाहिर निस्कने सवारी साधन र वटुवाहरुलाई नियन्त्रणमा लिईरहेको छ ।

अघिल्ला दिनहरुमा सवारी नियन्त्रणमा लिएर वेलुका छाड्ने गरेपनि नयाँ नीतिअनुसार त्यस्ता सवारीका चालकहरुलाई वेलुका सम्म होल्ड गराउन सुरु गरिएको हो । पूर्वी चितवनमा विहान सात बजे देखि १० वजे सम्म एक सय ५ जनालाई नियन्त्रणमा लिएको छ भने १२ वटा मोटरसाईकल र एउटा स्कुटर नियन्त्रणमा लिईको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीले ५६ जना पुरुष र १२ वटा मोटरसाईकल नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले बताए । नियन्त्रणमा रहेकाहरुलाई सुनगाभा स्कुलमा राखिएको र उनीहरुलाई बेलुका मात्रै छाड्ने मगरले बताए ।
उता इलाका प्रहरी कार्यालय टाँडीले ४९ जना लाई नियन्त्रणमा लिएको छ । जसमा एक जना महिला पनि छन् । टाँडीबाट एउटा स्कुटर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक शेखरकुमार शाहले बताए । उनीहरुलाई पनि वेलुकानै छाडिने छ ।





