निको भएकालाई पुन: हुन सक्छ कोरोना भाइरसको सङ्क्रमण ?

काठमाण्डौं, १६ चैत

कोरोना सङ्क्रमणबाट पूरै निको भएर सामान्य जीवनमा फर्किएको केही दिनमा जापानका एक पुरुषमा पुन: संक्रमण देखिएपछि चिकित्सकहरुमा चिन्ता बढाएको छ ।

उनी निको भएर घर फर्किएपछि फेरि बिरामी भएको र उनको परीक्षण गर्दा कोरोनाको सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ । यो निकै चिन्ताको विषय भएको डाक्टरहरुले बताएका छन् ।

प्रतिरोधात्मक क्षमता राम्रोसँग विकास नभएकोले यस्तो हुन सक्ने भए पनि यसले आगामी दिनमा आउने खोप तथा रोग नियन्त्रणमा गम्भीर समस्या ल्याउन सक्ने डाक्टरहरुको बुझाइ छ ।

स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेसका अनुसार कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोरोनाको सङ्क्रमण भएको पाइएको छ । यो पुनः सङ्क्रमण भएको नभइ पुरानै भाइरस फेरि बल्झिएको उनी बताउँछन् ।

कतिपय भाइरस शरीरमा तीन महिनाभन्दा लामो समय रहन सक्छ तर कोरोनाको पुनः सङ्क्रमण निकै चाँडो भएकोमा डाक्टरहरुले चिन्ता व्यक्त गरेका छन् ।

दादुराको खोप एक पटक दिएपछि जीवनभरि प्रतिरोधात्मक क्षमता बनाइराख्छ तर कोरोनाको बिरामीमा चाँडै पुनः सङ्क्रमण भएकोले खोपले कसरी काम गर्छ भन्ने चिन्ता थपिएको डाक्टरहरुले बताएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको व्यवहारको बारेमा धेरै कुरा बुझ्न बाँकी छ तर पुनः सङ्क्रमण चाँडो देखिनु निकै अनौठो भएको अनुसन्धानकर्ता इसिडोरो मार्टिनेजले बताएको बीबीसीले जनाएको छ । यदि लामो समयसम्म प्रतिरोधात्मक क्षमता नरहने हो भने एक दुई वर्षपछि यसले अर्को महामारी ल्याउन सक्ने मार्टिनेजको भनाइ छ ।

प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनले भने कोरोनाका बारेमा हरेक दिन नयाँ तथ्य थाहा पाइराखेको भन्दै पुनः सङ्क्रमण र रोकथामका बारेमा पनि विज्ञानले थाहा पाउने बताएको छ ।

अहिलेकै लागि भने एक पटक निको भइसकेका कोरोना सङ्क्रमितहरु फेरि सङ्क्रमणको जोखिममा छौँ भन्ने बुझेर स्वास्थ्यको ख्याल गर्न डाक्टरहरुको सुझाव छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट