रत्ननगर, ६ साउन ।
सौराहाका रेष्टरेन्ट व्यवसायीहरुले हालै सरुवा भई आएका इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीलाई स्वागत गरेका छन् । रेष्टरेन्ट एण्ड बार एशोसिएशन रेवान सौराहा र रेवान महिला समुहले शनिवार परिचयात्मक कार्यक्रम गरी डिएसपी ज्ञवालीलाई स्वागत गरेका हुन् ।

सो अवसरमा यहाँका व्यवसायीहरुले रात्रिकालीन सेवा दिने वातावरण बनाउनुका साथै शान्त सौराहा बनाउने गरी सुरक्षा प्रदान गर्न आग्रह गरे । रेवानका निवर्तमान अध्यक्ष एवं रत्ननगर–७ का वडाध्यक्ष लालबहादुर भट्ट, रेवान महिला समूहका अध्यक्ष माला दाहाल, युनाइटेड हात्ती सहकारी सञ्चालन संघका अध्यक्ष दीपक भट्टराई, बाघमारा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष विपी चौधरीलगायतले पर्यटक र व्यवसायीहरुले सुरक्षित रहेको अनुभूति दिलाउने गरी सुरक्षा दिन आग्रह गरेका हुन् ।
रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले सौराहामा व्यवसायीले बनाएको आचारसंहिता कडाइका साथ लागू गराउन प्रहरी प्रसासनसँग सहयोगको अपेक्षा रहेको बताए । डिएसपी ज्ञवालीले व्यवसायीको मागबमोजिम आवश्यकताअनुसार सुरक्षा अभाव रहेको ठाउँमा सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । रेवान सौराहाका अध्यक्ष गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष दीपेन्द्र खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । शनिबार नै रेवान सौराहाको आयोजनामा नयाँ करका बारे व्यवसायीलाई जानकारी गराइएको छ । राजस्व कार्यालय भरतपुरका कर अधिकृत डिल्लीराम पौडेलले नयाँ करको व्यवस्थाबारे जानकारी गराएका थिए ।





