धु्रवराज खनाल/कायाकैरन
रत्ननगर,२३ असार ।
विपदको जोखिम कम गर्न चितवनका स्थानीय तहले तयारी सुरु गरेका छन् । तेस्रो नगर सभाबाट विपदका लागि बजेट विनियोजन गरेपछि तयारीमा जुटेका छन् ।
विपदका सामाग्री खरिददेखी स्वयमसेवक उत्पादन समेत स्थानीय सरकारको रुपमा रहेको नगरपालिकाहरुले गरेका छन् । केही दिन अघि मनसुन सक्रिय स्थानीय तह निष्क्रिय भन्ने समाचार कायाकैरन दैनिकमा प्रकाशित भएको थियो । पूर्वी चितवनमा रहेका नगरपालिकाहरुले सम्भावित जोखिम क्षेत्र पहिचान गरेर जोखिम न्यूनिकरण गर्न काम सुरु गरेको जनाएका छन् । यहाँ रहेका चार नगरपालिका मध्ये राप्ती नगरपालिका बाढी र पहिरोको उच्च जोखिममा रहेको नगर हो । राप्तीको पहाडी चार वडा पहिरोको जोखिममा छ भने तराई भेगका केही वडावाहेक अरु वडा बाढीले प्रभावित पार्ने क्षेत्र हो । नगर प्रमुख प्रभा बरालका अनुसार राप्ती १०, ११, १२ र १३ पहिरो तथा १, २, ३, ६, ७ र ८ बाढीको जोखिम वडा हो । सो नगरपालिकाका केही दिन अघि मात्रै पहिरोका कारण १ जनाले ज्यान गुमाएका थिए । भने गत वर्ष पहिरोले १ र बाढीले २ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको जस्तै घटना हुन नदिन नगरपालिका चनाखो रहेको नगर प्रमुख बरालले बताइन् । “वर्षामा बाढी पहिरोबाट जनको क्षती नहोस भनेर हामी पूर्व तयारीमा छौँ”, नगर प्रमुख बरालले भनिन, “त्यसका लागि उद्वार सामाग्री र स्वयम सेवक तयारी अवस्थामा राखेका छौ ।”
नगर प्रमुखको अध्यक्षतामा विपद व्यवस्थापन समिति समेत गठन गरिसकेको छ । विहीवार मात्रै सो नगरपालिकाले करिव ३ लाख वरावरको विपद न्युनिकरण सामाग्री खरिद गरेको छ । विपदको जोखिम कम गर्नका लागि लाईफ ज्याकेट, डोरी, टेन्ट, वन्चरो, सावेल, त्रिपाल, लाईट, पञ्जा, बुट, बोराहरु खरिद गरेको नगर प्रमुख बरालले बताइन् । सम्भावित विपद जोखिम कम गर्न र विपद पछिको अवस्थाका लागि भनेर हालै सम्पन्न तेस्रो नगर सभाले ५० लाख समेत विनियोजन गरिएको छ । राप्ती नगरपालिकामा राप्ती,लोथर,पम्फा,लदरा,ढुंग्रे खोला पर्दछ । यस्तै खैरहनी नगरपालिकाले पनि जोखिम न्युनिकरणका लागि आफुहरु तयारी अवस्थामा रहेको जनाएको छ । नगर प्रमुख लालमणी चौधरीले विपदको जोखिम कम गर्न आफुहरु तयारी अवस्थामा रहेको बताए । “विपद नपरोस भन्ने हाम्रो चाहाना हो”, नगर प्रमुख चौधरीले भने, “तर विपदलाई कसैले रोक्न सक्दैन्, त्यसका लागि हामी तयारीमा अवस्थामा छौँ ।” खैरहनीले पनि विपद व्यवस्थापनका लागि करिव ५० लाख भन्दा बढी बजेट विनियोजन गरेको छ । बाढीको कटान हुन सक्ने भनेर नगरपालिकाले २ सय थान जाली स्टक गरेर राखेका छ भने सो जालीलाई आवश्यक ढुंगा समेत स्टक रहेको नगर प्रमुख चौधरीले बताए ।
खैरहनी नगरपालिकाको बिहीबार बसेको बैठकले तत्काललाई १ लाखको अन्य विपद सामाग्री खरिद गर्ने निर्णय गरेको छ । खैरहनीमा सबै वडा बाढी प्रभावित क्षेत्रको रुपमा रहेपनि ६, ७, ९, १०, ११, १२, १३ बढी डुवानमा पर्ने गरेका छन् । यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिका र कालिका नगरपालिकाले पनि विपद जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । रत्ननगरले विपदकै लागि ५० लाख छुट्याएको छ । पहाडी क्षेत्र नभएकाले रत्ननगरका ३, ५, ६, ७, ८, ९, १६ बाढीको बढी जोखिम वडा हुन् । दुई भौगोलिक वनोटले वनेको कालिका नगरपालिकालाई वाढिसंगै पहिरोको जोखिमको चिन्ता छ । कालिकाका पनि विपद जोखिम न्यूनिकरणका लागि आवश्यक तयारीका साथ रहेको नगर प्रमुख खुमनारायण श्रेष्ठले बताए ।





