चितवनका चेपाङ विद्यार्थीलाई जापानका नेपालीद्वारा खाद्यान्न सहयोग

चितवन, १५ वैशाख ।
जापानमा बसेका नेपालीहरूले चितवनको पहाडी क्षेत्रका विद्यार्थीलाई खाद्यान्न सहयोग गरेका छन् । जापानको ओकायामामा कार्यरत नेपालीहरुले चितवनको पहाडी गाउँ राप्ती नगरपालिका वडा नम्बर १३ लोथर कान्दाको कान्देश्वरी आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई खाद्यान्न सहयोग गरेका हुन् ।

यसै वर्षबाट कक्षा आठमा पनि पढाइ सुरु भएको सो विद्यालयमा चेपाङ समुदायका मात्रै १४५ जना विद्यार्थी पढ्ने विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए ।

उनीहरु सबै विद्यालय नजिकै निर्माण भएको ‘कुमार बलराम स्मृति छात्राबास’मा बस्दछन् । सो छात्राबास लक्ष्मी प्रतिष्ठान नामक संस्थाले सञ्चालन गरेको हो । प्रतिष्ठानले स्वदेश र विदेशमा कार्यरत नेपालीहरुबाट सहयोग जुटाएर छात्राबास चलाएको छ ।

चेपाङ बालबालिकाका लागि लामो समयदेखि निःशुल्क सञ्चालन हुँदै आएको छात्राबासमा चामल सहयोग गरिएको चितवनका समाजसेवी मुरलीप्रसाद गजुरेलले बताए । ओकोयामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले शुक्रबार संस्थाले जुटाएको रकमबाट खरिद गरेको ७० बोरा चामल छात्राबासलाई हस्नान्तरण गरे । एउटा बोरामा ३० केजी चामल छ ।

चेपाङ समुदायको बसोबास रहेको कान्दा गाउँमा मोटर बाटो, बिजुली जस्ता आधारभूत पुर्वाधारहरु पनि छैनन् । जीपबाट झरेर कम्तिमा चार घण्टा उकालो ओरालो पहाडी बाटो पैदल हिँडेपछि कान्दा पुगिन्छ ।

ओकोयामा नेपाली समाजका अध्यक्ष प्रेम आचार्यले छात्राबास, विद्यालय र गाउँको अवस्था हेरेपछि आफ्नो तर्फबाट थप ३० बोरा चामल उपलब्ध गराउने घोषणा गरे । उनले छोरा सुमितको जन्मदिवसको सन्दर्भ पारेर विद्यार्थीका लागि थप खाद्यान्न दिन लागेको बताए । ओकोयामा नेपाली समाजले यसअघि पनि चितवनको चेपाङ बहुल पहाडी गाउँहरुमा खाद्यान्नलगायतका सहयोग गर्दै आएको आचार्यले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट