रोकौँ सवारी दुर्घटना

महेन्द्र राजमार्गको लायन्सचोकमा युवा व्यवसायी यदुराज पौडेलले दुर्घटनामा ज्यान गुमाएको १३ दिन भएको छैन । पौडेल परिवार किरियामै छ । मोटरसाइकल चढेर काममा हिँडेका पौडेललाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको हो । पौडेल आफ्नै लेनबाट अगाडि गइरहेका बेला विपरीत दिशाबाट आएको ट्रकले अर्को सवारीलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीको भनाइ छ । यसरी यो घटनालाई हेर्दा आफ्नो केही गल्ती नहुँदानहुँदै एक युवकले ज्यान गुमाउनु परेको देखिन्छ । सडक लेनको पालना ट्रक चालकले गरेको भए शायद पौडेलको ज्यान जाने थिएन ।

ठूला सवारीसाधनका चालकले साना सवारीसाधन चालकलाई हेप्ने मनोविज्ञानले पनि सडक दुर्घटना बढिरहेका छन् । यस्तो मानसिकतालाई परिवर्तन गर्न ट्राफिक प्रहरी सक्रिय हुनु पर्ने देखिन्छ ।

चितवनमा चालु आर्थिक वर्षको दुई महिना साउन र भदौमा १८ जनाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारीसाधनमा दुईपांग्रे सवारीसाधन धेरै छन् । त्यसपछिको क्रममा ठूला सवारीसाधन रहेका छन् । दुई महिनामा मोटरसाइकल/स्कुटी ६५ वटा र ट्रक/ट्यांकर २२ वटा दुर्घटनामा परेका छन् । बस, माइक्रो, जिप, कार, टेम्पोलगायत एक सय ४१ वटा सवारी दुर्घटनामा परेका छन् । पछिल्ला तीन आर्थिक वर्षको सवारी दुर्घटनाको तथ्याङ्कलाई केलाउने हो भने दुईपांग्रे सवारी नै अत्याधिक दुर्घटना हुने सवारीमा परेको देखिन्छ । यो तथ्यांकले पनि ठूला सवारीसाधन चालकले साना सवारीचालकलाई बेवास्ता गर्ने परिपाटीलाई पुष्टि गर्दछ ।

सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, मदिरा पिएर सवारी चलाउने, बिनालाइसेन्स सवारी चलाउने, साँघुरो सडक र सडकमा भएका खाल्डाखुल्डी नै हो ।

तीव्र गति र ओभरटेकले पनि दुर्घटना बढ्दो छ । आर्थिक वर्ष २०७६/७७ मा भएका चार सय ३३ सवारीसाधन दुर्घटनामा एक सय ७ जनाले ज्यान गुमाएका थिए । जसमा सबैभन्दा धेरै दुर्घटनामा एक सय ७९ दुईपांग्रे सवारी मोटरसाइकल/स्कुटी परेका थिए । उक्त आवमा ७० वटा ट्रक/ट्यांकर, ६८ वटा जिप/कार, ३४ वटा बस, १६ वटा टेम्पो, १० वटा ट्याक्टर, ४ वटा टिपरलगायत रहेका छन् ।

गएको आर्थिक वर्ष २०७७/७८ मा चितवनमा भएका ६६४ सवारी दुर्घटनाबाट १२८ जनाले गुमाएका थिए । जसमा तीन सय २१ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए भने एक सय १५ वटा ट्रक/ट्यांकर, ८० वटा जीप/कार, ४० वटा बस, ३२ वटा ट्याक्टर, २० वटा टेम्पो, १६ वटा टिपरलगायत रहेका छन् ।

सवारीचालकहरुले सडक अनुशासन पालना गर्ने हो भने धेरै हदसम्म सडक दुर्घटनामा कमी आउन सक्छ । यसतर्फ सबै सचेत बनौँ । सवारी दुर्घटनाको बढ्दो क्रमलाई रोकौँ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट