समस्याग्रस्त विद्यालयलाई चौधरीको सहयोग

विप्लव काफ्ले
भरतपुर, १ असार ।

भरतपुर–२८ स्थित गोलाघाटमा रहेको ३ कक्षासम्म पढाइ हुने लौखरीको विद्यालयमा अधिकांश विद्यार्थी कुमाल समुदायका छन् । ८४ जना विद्यार्थीमध्ये ८० जना विद्यार्थी कुमाल छन् । पढाउने सबै शिक्षक महिला छन् । भरतपुरबाट ३५ किमि पश्चिमतर्फ रहेको विद्यालय विभिन्न समस्यामा जेलिएको छ ।
“विद्यालयलाई स्तरवृद्धि गर्ने आवाज उठाउँदै आइरहेका छौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनमाया कुमालले भनिन्, “भवन निर्माण गरेर कक्षा पनि थप गर्न आवाज उठाइरहेका छौँ ।” अम्रौलीमा रहेको तत्कालीन राप्रावि जान बाढीले समस्या परेपछि लौखरीमा शाखाको रुपमा १ कक्षा चलाइएको थियो । स्थानीय समाजसेवी बसन्तबहादुरले आफूले भोगचलन गर्दै आएको १ कठ्ठा निजी र ३ कठ्ठा जग्गा, पूर्वमन्त्री विक्रम पाण्डेले १ कठ्ठा जग्गा दिएका थिए । २०५८ सालमा स्थानीयको पहलमा सानो टहरो बनाइएको थियो । पछि रुम टु रिड संस्थाले ७ कोठे टिनको छानो भएको भवन बनाइदिएको थियो ।
यो विद्यालयले २०६३ सालदेखि कक्षा ३ सम्मको स्वीकृति पाएपछि सरकारी अनुदान पाउन थालेको थियो । विद्यालयमा हाल २ जना राहत दरबन्दी १ जना अस्थायी दरबन्दीमा र २ जना बालविकास केन्द्रमा पढाउने शिक्षिका कार्यरत छन् । “विद्यालयलाई ५ कक्षासम्म चल्ने बनाउन स्थानीयले माग गर्दै आएका छन्”, विद्यालयकी प्रधानाध्यापक शोभा कुमालले भनिन्, “बाढी प्रभावित क्षेत्र हो । विद्यार्थी चाप हुदैन भनेर ऊबेला शिक्षा कार्यालयले अनुमति दिएन । यसपालि पनि पहल गर्दै आएका छौँ ।”


उनले आयस्रोत कमजोर तथा राप्ती र नारायणी नदी कटानको समस्यामा रहेको क्षेत्र भएकाले शिक्षाको पहुँचमा ल्याउन विद्यालय स्तरवृद्धि आवश्यक रहेको बताइन् । उनले विद्यालयको जग्गा प्रशस्तै नभएकाले आयस्रोत कमजोर रहेकाले स्थानीय सरकारको सहयोग अपरिहार्य रहेको बताइन् । गत साउनमा आएको भीषण बाढीले विद्यालय डुवानमा परेको थियो । जीर्ण बनेको विद्यालय दाताको सहयोगमा मर्मतसम्भार भएको थियो ।
भरतपुर–२८ का बासिन्दामध्ये झण्डै ९५ प्रतिशत कुमाल छन् । यो क्षेत्रमा पर्ने अम्रौलीमा ५ सम्म, सिसावासमा ८ सम्म, साझापुर र जितपुरमा १२ कक्षासम्म पढाइ हुन्छ । “५ वटै सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी अभाव छ”, भरतपुर–२८ का वडाध्यक्ष आशबहादुर कुमालले भने, “विद्यालय भवन निर्माण तथा मर्मतमा थुप्रै बजेट आवश्यक देखिन्छ । बजेट अपुग छ ।” वडा कार्यालयले यो वर्ष लौखरीको आधारभूत विद्यालयको पूर्वतर्फ तारजाली राख्न ५० हजार, अम्रौलीलाई छाना र्मत गर्न ५० हजार, सिसावासलाई कम्युटर खरिद गर्न २ लाख, जितपुरको विद्यालयलाई स्वर्ण महोत्सव मनाउन २ लाख, साझापुरलाई कम्पाउण्ड गर्न २ लाख ७५ हजार सहयोग गरेको छ । “सबैभन्दा समस्यामा रहेको विद्यालय लौखरी हो”, उनले भने, “यसपालिको नगरसभा मार्फत बजेट विनियोजन गरिने छ ।”
शुद्ध खानेपानीको व्यवस्था
चौधरी फाउण्डेसनले प्लानेट वाटर फाउण्डेसनसँग सहकार्य गरेर भरतपुर–२८ स्थित लौखरीको आधारभूत विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराएको छ । ‘वाटर फिल्टरेसन सिष्टम’ जडान गरेर विद्यार्थी र वरपरका समुदायलाई लक्षित गरी शुद्ध खानेपानी उपलब्ध गराएको हो । प्रतिघण्टा १ हजार लिटर पानी शुद्धीकरण गर्न मिल्ने गरी फिल्टरेसन युनिट जडान गरिएको छ । हात धुन मिल्ने गरी ‘अटोमेटिक लिक्युड सप’ प्रणाली पनि जडान गरिएको छ । ९ वटा धारा जडान भएका छन् । १० लाख लागतमा खानेपानी प्रशोधन प्रणाली सञ्चालनमा आएको हो ।


बिहीबार खानेपानी प्रशोधन प्रणालीको चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले उद्घाटन गरे । “शिक्षित मस्तिष्क बनाउनका लागि स्वस्थ व्यक्ति अपरिहार्य छ”, प्रतिनिधिसभा सांसद्समेत रहेका उद्योगपति चौधरीले भने, “यो एक सानो प्रयास हो । शुद्ध खानेपानी पु¥याउने कामको प्रारम्भ गरेका छौँ । अरु विद्यालयमा पनि सहयोग गर्ने योजनामा छौँ ।”
उनले चौधरी ग्रुपले ‘शिक्षित नेपाली, सम्पन्न नेपाली’ नारा लिएर २०६४ सालदेखि ‘ज्ञानोदय छात्रवृत्ति’ अभियानात्मक कार्यक्रम गर्दै आइरहेको बताए । “भविष्यका अत्यन्त जागरुक, सक्षम जनशक्ति निर्माणमा यो सहयोगले मद्धत गर्नेछ”, उनले भने, “विद्यालय स्तर वृद्धि गर्न आवश्यक सहयोग गर्न तयार छु ।”
उनले मेघौली विमानस्थललाई निरन्तर सञ्चालनमा ल्याउन जनप्रतिनिधिले निरन्तर पहल गर्नुपर्ने बताए । “अब आउने सिजनदेखि निरन्तर चलोस्”, उनले भने, “विमानस्थल हुदै नेपाल आउने यात्रुले विकासमा पनि सहयोग गरुन् ।” मेघौलीलाई चिनाउनै सुविधासम्पन्न मेघौली सेराई सञ्चालनमा ल्याएको बताए । चौधरी फाउण्डेसनले सो विद्यालयमा रंगरोगन गरेको छ ।
विद्यार्थीलाई झोला पनि उपहार दिएको छ । मेघौली सेराई सुविधासम्पन्न जंगल सफारी रिसोर्ट हो । खानेपानी प्रशोधन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद कृष्ण भुर्तेलले लौखरीको विद्यालयलाई स्तरवृद्धि गरेर विद्यार्थी आकर्षण गराउन पहल गरिने बताए । उनले लुम्बिनी, पोखरालाई जोडेर मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट