भरतपुर, ३१ जेठ ।
विश्वकप फुटबलको कुम्भमेलाको रुपमा प्रचारित विश्वकप फुटबल प्रतियोगिता बिहीबार जुन १४ बाट सुरु भएको छ । २१ औं संस्करणको विश्वकप फुटबल रसियाको राजधानी मस्कोमा सुरु भएको हो ।

आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेलअघि विश्वकपको उद्घाटन समारोह भव्यरुपमा गरिएको थियो । जसलाई रसियन राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गरेका थिए । नेपाली समयअनुसार साँझ सवा ८ बजे मस्कोको लुजनेकी रंगशालामा समारोह सुरु गरिएको थियो । आधा घन्टासम्म चलेको उदटन समारोहमा पुटिनको सम्बोधनअघि बेलायती गायक, रचनाकार र अभिनेता रोबी विलियम्स र रसियन गायिका आइडा गारीफुलिनाले गीत गाएका थिए । ब्राजिलियन सुपरस्टार रोनाल्डो पनि उद्घाटन समारोहमा उपस्थित भएका थिए ।

विश्व फुटबल महासंघ (फिफा) ले यसपालिको उद्घाटन समारोह पहिलाभन्दा फरक भएको दावी गरेको छ । उद्घाटन समारोहमा करिब ८१ हजार दर्शक उपस्थित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विश्वकप फुटबलमा यसपटक ३२ राष्ट्रले सहभागिता जनाएका छन् । ३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरिएका छन् । हरेक समूहमा ४ टिम छन् । हरेक समूहबाट नकआउट चरणमा टप दुई टिम प्रवेश गर्नेछन् भने दुई टिम पहिलो चरणबाटै बाहिरिनेछन् । उनीहरुले कूल ६४ खेल खेल्नेछन् । रसियाले ११ सहरका १२ वटा मैदानलाई विश्वकप फुटबलका लागि तयार गरिसकेको छ ।
प्रतियोगितामा एसियाका पाँच, अफ्रिकाका पाँच, उत्तर अमेरिकाका तीन, दक्षिण अमेरिकाका पाँच र युरोपका चौध राष्ट्र सहभागी हुँदैछन् । विश्वकप विजेताले ३८ मिलियन अमेरिकी डलर पुरस्कार पाउनेछन्। त्यस्तै, उपविजेताले २८ मिलिनय डलर पाउनेछ ।
फोटोः फिफा





