खेन्पो उपाधि पाएका दशरथलाई सम्मान

भरतपुर, १० जेठ ।

बौद्ध दर्शनमा विद्यावारिधी(खेन्पो) हासिल गरेका भरतपुर गोन्द्राङका दशरथ गुरुङलाई सम्मान गरिएको छ । करिव २२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरेर खेन्पो उपाधि पाएका दशरथ गुरुङलाई भरतपुरमा भव्य स्वागत गरिएको छ । भारतको महेश्वरस्थित बौद्ध विश्वविद्यालयबाटनम्ड्रोलिङ गुम्बाबाट दशरथले बौद्ध शिक्षा अध्ययन गरेका थिए । चितवनमा हालसम्म दुइ जनामात्रै खेन्पो गुरु छन् ।

शरदपुर स्थित पञ्चशिल महाबौद्ध गुम्बामा डिला घर (चुनास) परिवारले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा गुरुङ, तमु समुदायले सम्मान गरेका हुन् । कठोर तपस्या र अध्ययनबाट बुद्धको नीति अंगिकार गर्दै प्राणीको हित गर्न सक्ने, अरुलाई बुद्ध दर्शनबारे पढाउन सक्ने बनेको भन्दै बैशाख १७ गते दशरथ गुरुङलाई कर्म गुरु कुछेन रिन्पोछेबाट विद्यावारिधि दिइएको थियो ।
“बुद्ध दर्शन असल जीवन पद्धति हो”, खेन्पो दशरथ गुरुङले भने, “यो बारे शिक्षा प्रणालीसँग जोडिनु आवश्यक छ । बौद्ध विश्वविद्यालय स्थापना गर्नु आवश्यक छ ।” उनले बौद्ध धर्मबारे समान बुझाई बनाउन आफुले भूमिका खेल्ने बताए ।

तमू (गुरूङ) लामा बौद्ध धर्म सेवा समाज चितवन र पञ्चशील महाबौद्ध गुम्बा समितिको अगुवाईमा गरिएको कार्यक्रममा दिनभर बौद्धमार्गीले भव्य स्वागत गरेका छन् । सो अवसरमा बौद्ध धर्म सेवा समाज र पञ्चशिल महाबौद्ध गुम्बाले सम्मानपत्रद्वारा सम्मान गरेका थिए । गुरुङ (तमु) लामा बौद्ध धर्म सेवा समाज चितवनका सचिव हितमान गुरुङले बौद्ध दर्शनको प्रचार प्रसारमा सहयोग पुग्ने बताए ।
“बुद्ध धर्म प्रर्वद्धन, परोपकारी काममा अघि बढाउन खेन्पो गुरुको योगदान महत्वपूर्ण हुनेछ”, उनले भने, “गुरुङ तमु समुदायका संस्कृति जगेर्नामा थप काम गर्न सहयोग पुग्ने विश्वास छ ।” समाजका उपाध्यक्ष छविराम गुरूङले खेन्पो उपाधि पाएका धर्मगुरु ज्यादै कम संख्यामा रहेकाले बौद्ध दर्शनलाई व्यापक बनाउन चूनौती हुने गरेको बताए । पञ्चशील महाबौद्ध गुम्बाका अध्यक्ष रामप्रसाद गुरूङले बौद्ध धर्मसम्बन्धि विषयमा विद्यावारिधी गरेर समग्र नेपालकै बौद्ध धर्मावलम्बीहरूको इज्जत बढाएको बताए ।

भरतपुर गोन्द्राङका दशरथ गुरूङ र पर्साढापका सन्तोष गुरूङले एकैचोटी खेन्पो उपाधि प्राप्त गरेका थिए । तर, सन्तोष बसाइँ सरेर पोखरा गइसकेका छन् । हाल उनी पोखराको रामघाट गुम्बामा कार्यरत छन् । बौद्ध विद्यावारिधी गरिसकेपछि उनीहरूले सरकारी मान्यता अनुसार बौद्ध दर्शनसम्बन्धि विद्यालय सञ्चालन गर्न पाउनेछन् ।

सो अवसरमा तमु हुयुल छोँज धिं चितवनका निवर्तमान अध्यक्ष सन्तलाल गुरुङले बौद्ध धर्म संस्कार जगेर्ना गर्न समुदायले धर्मगुरु पाएको बताए । बौद्ध धर्म सेवा समाज काठ्माण्डौका रणबहादुर गुरुङ, खेन्पो सन्तोष गुरुङले बौद्धमार्गीका लागि खेन्पो उपाधि हाँसिल गर्नु ठूलो उपलव्धि भएको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट