बजेट नहुँदा ‘ट्राफिक लाइट’ अलपत्र

विप्लव काफ्ले/कायाकैरन
भरतपुर, १० जेठ ।

भरतपुर महानगर र रत्ननगर क्षेत्रमा ‘स्मार्ट ट्राफिक लाइट’ जडान गर्न विज्ञ टोलीले अध्ययन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आग्रहमा यार्सा टेक्नोलोजी काठमाडौंको ३ सदस्यीय टोलीले ट्राफिक लाइट राख्ने स्थानको अवलोकन गरी स्थानीय तहलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।
भरतपुर महानगरको ६ स्थान र रत्ननगरको २ ठाउँमा ट्राफिक लाइट राख्ने गरी लगत अनुमानसहित जनप्रतिनिधिलाई जानकारी गराएको छ । “सोलारमा आधारित अटोमेटिक ट्राफिक लाइट राख्नेबारे सम्भाव्यता अध्ययन गरेका छौँ”, यार्सा टेक्नोलोजीका ईञ्जिनियर सिद्धिक अन्सारीले भने, “लाइट जडान भएमा ट्राफिक व्यवस्थापनमा सहज हुनेछ । धेरैबेर जाममा पर्नुपर्ने समस्या हल हुनेछ ।” बढी जाम भएको अवस्थमा ‘सिग्नल’ इन्टरेनटमार्फत नियन्त्रण गरेर ट्राफिक व्यवस्थापन गर्ने गरी लाइट जडान गर्नेबारे अवगत गराएको उनले बताए । नियन्त्रण कक्षबाट सबै सवारी आवतजावत तथा ट्राफिक जामको अवस्था हेरेर ट्राफिक लाइटमार्फत संकेत दिन सकिने गरी प्रविधि जडान हुने बताए । “९ मिटर पोलमा बत्ती राख्ने गरी स्थान पहिचान भएको छ”, उनले भने, “चौबाटोबाटै हेर्न मिल्ने गरी बत्ती राखिनेछ । सोहीअनुसार बाटो पार गर्न सकिनेछ ।” उनका अनुसार चोकमा कति मिनेटसम्म कुर्नुपर्ने भनी समयसमेत देखाउने गरी संकेत दिइने छ । २ मिनेटभन्दा बढी कुर्नु नपर्ने गरी ट्राफिक व्यवस्थापन गरिने छ ।


महानगरको मुख्य बजार नारायणगढ र भरतपुरका पुलचोक, शहीदचोक, लायन्सचोक, चौबिसकोठी, हाकिमचोक, बसपार्कचोकमा ट्राफिक लाइट जडान गर्न झण्डै १ करोड २२ लाख ७८ हजार लागत लाग्ने अनुमान गरिएको छ । यस्तै रत्ननगर नगरपालिकाको सौराहाचोक र टाँडीचोकमा ट्राफिक लाइट राख्न झण्डै ३३ लाख ७१ हजार लागत राख्ने अनुमान गरिएको छ । एक चोकमा ट्राफिक लाइट जडान गर्न सरदर २५ लाख लाग्ने अनुमान छ । “महानगर र नगरपालिकाका मेयर, उपमेयरले टेण्डर वा अन्य कानुनी प्रक्रिया मार्फत ट्राफिक लाइट जडान गर्नेमा सकारात्मक देखिनुभएको छ”, ईञ्जिनियर अन्सारीले भने, “जेब्रा क्रसिङमा समेत बत्ती राख्न सकिने बारे जानकारी गराएका छौँ ।”
स्थानीय तहले बजेट विनियोजन नगरे सार्वजनिक निजी साझेदारीअन्तर्गत आर्थिक व्यवस्थापन गरेरै भएपनि ट्राफिक लाइट जडान गर्न विज्ञ टोलीले सुझाएको छ । एक महिना पहिले विज्ञ टोलीले प्रतिवेदन बुझाएपनि स्थानीय तहले खासै चासो नदिदा योजना अलपत्र बन्ने देखिएको छ । यार्सा टेक्नोलोजीको प्राविधिक सहयोगमा काठमाडौंका धेरै स्थानमा ट्राफिक लाइट बाल्ने काम भएको थियो ।
पूर्व–पश्चिम राजमार्गका मुख्यचोकमा ट्राफिक लाइट राख्न स्थानीय तहको ध्यानाकर्षण गराउँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । “सवारी चाप बढ्दा चोकमा व्यवस्थापनमा निकै समस्या छ”, ट्राफिक प्रमुख सन्तोष पन्तले भने, “इसाराका भरमा सडक पार गराउन निकै सकस छ । जोखिम पनि छ ।” चोक–चोकमा हुने सवारी चाप नियन्त्रण गर्न ट्राफिक लाइट अत्यावश्यक देखिएको बताए । सवारी तथा पैदलयात्री संकेतका आधारमा सडक पार गर्न ट्राफिक बत्ती निकै प्रभावकारी मानिन्छ । “ट्राफिक लाइट जडान गर्न लाग्ने लागतबारे अध्ययन पुरा भएको छ”, उनले भने, “स्थानीय तहले बजेट विनियोजन गरेमा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्छ ।” एकातर्फको सवारी रोक्दै अर्कोतर्फको पास गराउँदै आएका ट्राफिक प्रहरीलाई पनि सहज हुने अपेक्षा गरिएको छ । अनावश्यक जाम, भीड र सम्भावित जोखिम नियन्त्रण गर्न ट्राफिक बत्ती उपयुक्त विकल्प भएको उनले बताए । यही आर्थिक वर्षमा ४ स्थानमा ट्राफिक लाइट जडान हुन सक्ने उनले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट