विप्लव काफ्ले/कायाकैरन
भरतपुर,२५ बैशाख ।
चितवनमा ‘एसिड’ (तेजाब) आक्रमणका घटना बढ्न थालेका छन् । आइतबार राति एसिड प्रहारबाट ३५ वर्षीय भरतपुर–२, बेलटाँडी डेरामा बस्दै आएका वीरमान महर्जन घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । केही दिनअघि भरतपुरमै महिलामाथि एक पुरुषले एसिड आक्रमण गरेका थिए ।
एउटै घरमा भाडामा बस्दै आएका धादिङ नलाङ–४ का ३० वर्षीय सुजितकुमार विश्वकर्माले ‘मदिराको नसा’मा वीरमानमाथि आइतबार राति एसिड खन्याए । वीरमान होलसेल सामान बिक्री गर्ने काम गर्दै आएका थिए भने सुजितकुमार सुन पसलमा काम गर्थे । बालकुमारी तरकारी मण्डी नजिकैको बाबुको होटलमा बस्दै आएका वीरमान झण्डै ६ महिनायता डेरा गरी सो घरमा बस्ने गरेका थिए । सामान्य चिनजानका साथी सुजितले आइतबार राति पहिलो पटक अचानक ‘रक्सी खाउँ’ भनेर प्रस्ताव गरेका थिए ।
“रक्सी खाउँ भन्यो, मैले मानिनँ”, घाइते वीरमानले घटना सुनाउँदै भने, “पछि सँगै बसेर खाइयो, अनेक बहाना निकालेर निहुँ खोज्न थालेपछि कोठा जान भनेँ । पछि ढोका खोल्न लगाएर ममाथि एसिड फाल्यो ।” विगतमा उसँग कुनै रिसिईबी नरहेको उनले बताए । “राति वाइफाइको पासर्वड माग्यो । नदिदा ऊ रिसाएको थियो”, उनले भने, “सुतिसकेपछि उसले ढोका खोल्न लगायो । खोल्न जाँदा एसिड मेरो शरीरमा फ्याँक्यो ।” उनले आफूमाथि एसिड खन्याउनेलाई कडा सजाय हुनुपर्ने माग गरे । “योजना बनाएरै गरेको आक्रमण जस्तो देखिन्छ”, वीरमानका भाइ आशमान महर्जनले भने, “आफ्नी ९ महिनाकी छोरी र श्रीमतीलाई ३÷४ दिन पहिले माइत पठायो । आइतबार राति २ जना साथी लिएर आयो । अनि नसाको तालमा एसिड खन्यायो ।”
आइतबार राति सुजितका अन्य दुई जना साथी र वीरमानसँगै बसेर रक्सी पिएका थिए । वीरमानको कोठामा ११ वर्षीय छोरा थिए । बाबुमाथि एसिड खन्याएको देखेपछि छोरा कराए । त्यसपछि घरबेटीले थाहा पाएपछि उनलाई राति नै अस्पताल ल्याइएको थियो । “छोरालाई घाइते बनाउने व्यक्तिलाई सजाय हुनुपर्छ”, वीरमानका बाबु कृष्णले भने, “यस्ता अपराध रोक्नुपर्छ । अरुमाथि यस्ता घटना नहुन् ।”
एसिड हानेपछि सुजितले आफूले लगेका दुई साथीलाई आफ्नो कोठामा थुनेर भागेका थिए । घटनालगत्तै प्रहरी घटनास्थल पुगेर सुजितलाई पक्राउ गरेको थियो । “जाहेरीका आधारमा मुद्दा चलाउने छौँ”, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले भने, “घटनाबारे अध्ययन भइरहेको छ । कानूनबमोजिम कारबाही हुनेछ ।” उनले सामान्य विवादमा एसिड प्रहार भएको प्रारम्भिक अध्ययनले देखाएको उनले बताए । “बिरामीको अवस्था सामान्यतर्फ उन्मुख हुँदै छ”, उनले भने, “आँखा, अनुहार र शरिरका केही भागमा असर पुगेको छ ।”

यसअघि बैशाख ९ गते दिउँसो भरतपुर–४ स्थित त्रिचोकमा ट्राफिक प्रहरीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले २८ वर्षीय एक युवतीलाई एसिड प्रहार गरेका थिए । ती महिलाको अनुहार, जिउ र खुट्टामा एसिड लागेको थियो । जिउमार्ने उद्योगअन्तर्गत महिलाले जाहेरी दिएपछि खनियाँ सेवाबाट निलम्बित भई हाल प्रहरी हिरासतमा छन् । “सम्पूर्ण अनुसन्धान विस्तृतरुपमा गरेका छौँ”, डिएसपी ढकालले भने, “केहीदिनमै तथ्य सार्वजनिक गर्नेछौँ । पीडकलाई कानुनमा उल्लेख भएअनुसार बढी भन्दा बढी सजाय दिइनेछ ।”
अधिवक्ता फूलमाया रानाभाटले मानवीयतामा ह्रास आउन थालेपछि एसिड प्रहारका घटना वृद्धि हुन थालेको बताइन् । “बदनामको भावना लिएर एसिड हान्ने श्रृंखला बढ्न थालेको पाइयो”, उनले भनिन्, “यो निकै डरलाग्दो अवस्था हो, सजग र सचेत हुनु जरुरी छ ।” उनले यस्ता अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न चेतनामूलक अभियानमा जोड दिइनुपर्ने बताइन् । “सजाय व्यवस्थाबारे जानकारी दिनुपर्छ”, उनले भनिन्, “घटना हुन नदिन कानूनले नै निरुत्साहन गर्नुपर्छ ।” लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन–२०७२ मा तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किई वा सो पदार्थले पोली, डामी दली, घसी जीउमा पीडा गराएमा वा अनुहार वा शरीरको कुनै अंग कुरुप पारेमा कसुरको प्रकृति हेरी ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना र ३ वर्षदेखि ८ वर्षसम्म कैद गर्न सकिने उल्लेख छ । शरीरको कुनै अंगभंग भएर खत भएमा १ देखि ३ लाखसम्म जरिवाना गरी ५ देखि आठ वर्ष कैद गर्नुपर्ने प्रावधान छ ।
यस्तै मुलुकी ऐनको कुटपिटको महलमा यो सजायँबारे उल्लेख छ । एसिड प्रहारबाट ज्यान गएमा कर्तव्य ज्यान मुद्दा, मरणासन्न अवस्थामा पुगेमा ज्यानमार्ने उद्योगमा मुद्दा चल्न सक्ने व्यवस्था छन् ।
किनबेचमा कडाइ
एसिड प्रहारका घटना बढ्न थालेपछि चितवनमा यसको किनबेचमा उच्च निगरानी थाल्ने तयारी भएको छ । डिएसपी प्रभुप्रसाद ढकालले एसिडको दुरुपयोग हुन नदिन प्रहरीले निगरानी बढाउने बताए । “एसिड किन्ने बेच्ने मापदण्ड सम्बन्धित नियकाले बनाउलान्”, उनले भने, “एसिडको खरिदबिक्री अवस्थाबारे प्रहरी चनाखो हुनेछ, दुरुपयोग हुन नदिन कदम चाल्नेछ ।” उनले एसिड बेच्ने र किन्ने दुवै पक्षलाई उच्च निगरानीको दायरामा ल्याइने बताए । उनले एसिड बेच्ने, किन्नेको अभिलेख राख्ने काम सुरु गरिने बताए ।




