चितवन, ७ पुस ।
प्रेस काउन्सिल नेपालको आयोजना एवम् नेपाल पत्रकार महासंघ चितवन शाखाको संयोजनमा आइतबार पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्यले नागरिक सरकारको नियुक्तिमा प्रेस काउन्सिललाई सुधार्न आफु आएको बताए । पत्रकारहरु पनि कुनै राजनीतिक दलको सदस्य बन्न नहुने उनले बताए ।
पत्रपत्रिका वर्गीकरणमा समस्या रहेको कुरा आफूले सुनेको बताउँदै उनले वर्गीकरणमा कुनै समस्या रहेछ भने त्यसलाई सुधारेर जाने बताए । १५ दिनअघि मात्रै उनी काउन्सिलको अध्यक्षमा नियुक्त भएका थिए ।
प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवम् आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाई महाशाखा प्रमुख रामशरण बोहोराले पत्रकारले गल्ती सच्याउन तत्परता देखाउनुपर्ने बताए । आफूले गरेका गल्ती सच्याउन नमान्ने पत्रकारको प्रमुख कमजोरी रहेको भन्दै उनले गल्ती सच्याउँदा पत्रकार र सञ्चारमाध्यमप्रतिको विश्वास अझ बढ्ने बताए ।
काउन्सिल पत्रकार र सञ्चार माध्यमलाई कारबाही मात्रै गर्ने निकाय नभएको उनले स्पष्ट पारे । आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चारमाध्यमलाई नियमन गर्न प्रेस काउन्सिल ऐन रहेको बताउँदै उनले त्यस ऐनलाई कार्यान्वयन गर्ने गरिएको बताए । पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) हाल कार्यान्वयनमा छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाले आचारसंहिता पत्रकारहरुको सिमारेखा भएको उल्लेख गरे । पत्रकारहरुले आफ्नो सिमा रेखाको ख्याल गर्नुपर्ने भन्दै उनले प्रविधिको फड्को मारिरहेको अवस्थामा आचारसंहिता संशोधन गर्नुपर्ने बेला भएको बताए । हाल लागु भइरहेको आचारसंहिता समय सापेक्ष नभएको उनले बताए ।
नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्याल, शन्तराम बिडारी, नेपाल बार एशोसियसन चितवनको अध्यक्ष फूलमाया रानाभाट, पत्रकारहरु र विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरु सहभागी थिए ।





