मकवानपुर, ९ असोज ।
भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका ५ जिल्लामा रहेका सरकारी संरचनामा आगजनी तथा तोडफोड हुँदा ९० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएकाे छ ।
प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बिहीबार पत्रकार भेटघाट गरी उक्त विवरण सार्वजनिक गरेका छन् । प्रवक्ता तामाङका अनुसार प्रदेशका काठमाडौं, चितवन, भक्तपुर, मकवानपुर र ललितपुर जिल्ला कुल ६० वटा भवनमा क्षति पुगेको छ । तीमध्ये २६ वटा सरकारी कार्यालयमा बढी क्षति भएको उनले जानकारी दिए ।
क्षतिको प्रारम्भिक आँकडा अनुसार भवनतर्फमात्रै ९० करोड १९ हजार रुपैयाँको नोक्सानी भएको मन्त्री तामाङले बताए । उनका अनुसार १९५ वटा सवारीसाधन (दुई र चार पाङ्ग्रेगरी) र अन्य जिन्सी सामानमा भएको क्षति ४२ करोड ७ लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ । उक्त अनुमान ह्रासकट्टीपछिको मूल्य रहेको उनको भनाइ छ ।
सबैभन्दा बढी क्षति मकवानपुर जिल्लामा भएको छ । मकवानपुरमा १७ वटा कार्यालयका ४० वटा भवन गरी ३९ करोड ९३ लाख ७२ हजार रुपैयाँ बराबरको नोक्सान भएको छ । चितवनमा २ करोड ८४ लाख, ललितपुरमा १ करोड ९१ लाख, काठमाडौँमा १ करोड ५८ लाख र भक्तपुरमा १ करोड ५७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
आन्दोलनका कारण प्रदेशको राजधानी हेटौंडामा रहेको प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, जसमा ३० देखि ३५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । भर्खरै उद्घाटन गरिएको नयाँ भवनसहित प्रदेश सभाका ५ वटा भवन, सवारीसाधन र महत्त्वपूर्ण कागजात आगजनीमा नष्ट भएका छन् । प्रदेश सभा बैठक कक्ष, अभिलेख कोठा र अन्य संरचना ध्वस्त भएका छन् । यो क्षतिसँगै प्रदेश सभा बैठक सञ्चालन गर्ने स्थानको समेत अभाव भएको छ ।
त्यस्तै, बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा साढे ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । मन्त्रालयका अधिकांश कोठा र कागजात जलेर नष्ट भएका छन् । मन्त्रालय अन्तर्गतका ४० वटा सवारी साधनमा पनि आगजनी गरिएको छ । ‘प्रदेश राजधानीमा रहेकाे कुल भौतिक संरचनामा क्षति ४७ करोड ९३ लाख ५४ हजार रुपैयाँको देखिएको छ । सवारी साधनतर्फ २१ करोड ६७ लाख ५५ हजार रुपैयाँ र जिन्सीतर्फ २० करोड ४० लाख ८१ हजार रुपैयाँको क्षति भएको अनुमान छ ’ उनले भने ।
मन्त्री तामाङले जेनजी आन्दोलनका क्रममा प्रदेश सरकार मातहतका संरचनाको क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणका लागिमात्रै ७१ करोड ४१ लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यथाशीघ्र पुनर्निर्माण गर्ने गरी सरकारले टिम खटाएर काम गरिरहेको उनले बताए ।





